‘रेनी ड्रिम्स’ उपन्यासबाट साहित्यमा लागे गीतकार सुरेन्द्र राना

म्यूजिक खबर
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

काठमाडौँ । गीतकार सुरेन्द्र रानाको पहिलो उपन्यास ‘रेनी ड्रिम्स’ भृकुटीमण्डपमा चलिरहेको चौथो बृहत पुस्तक प्रदर्शनीमा कलाकार किरण केसी, शिवहरि पौडेल, निर्देशक देवकुमार श्रेष्ठ र श्याम राईका साथै प्रदर्शनी अवलोकन गर्न आएका पाठकको हातबाट एकसाथ लोकार्पण गरिएको छ ।‘कालो चश्मा लाउ है मैया विशाल बजारको, नगर्नु है चिन्ता मैया दुईचार हजारको…’, ‘सबैले दिने उस्तै हुन्छ माया….’, ‘थामेर किन छोड्यौ हातहरु…’, ‘मेरो याद अझै आउँछ भने…’, ‘जुनी जुनीलाई मेरी उनीलाई…’, ‘जोडी ढुकुर एकै ठाउँ नहुँदा, डाँडाकाँडा रसायो म रुँदा…’, ‘लाठी चार्ज नगर मेरो मायामा..’, जस्ता चर्चित गीतका रचनाकारले उक्त उपन्यास पनि ल्याएका हुन् ।
जीवन भन्नु मानिसको हृदयमा उब्जने कोमल भावनाहरुको जोड हो, र जीवन जस्तै उनको उपन्यास पनि भावनाको जोड हो भन्ने कुरा रानाले उक्त लोकार्पण कार्यक्रममा भनेका थिए । ‘छिन्नलता गीत पुरस्कार २०६९’ का साथै गीत संगीत सम्बन्धित अरु धेरै पुरस्कार पाएका रानाले, आपूmले अरु केही काम नगरेर पूरा जीवन गीत लेखनमा अर्पण गरिसकेको तर जीवनका लामा कथा उपन्यासबाटै भन्नु परेकाले उपन्यास लेखेको बताएका थिए ।
प्रकाशक तथा सर्जक पुण्यप्रसाद प्रसाईका अनुसार, ‘प्रेम र प्रेरणा विषयक यो उपन्यास संघर्ष गर्ने जुझारु युवालाई राम्रो लाग्ने अनि जिन्दगीमा केही पटक असफल भएर, केही पटक बाटो बिराएर सबै कुरा नसिकिँने र जुन काम जहाँ बसेर गरिँदैछ त्यसलाई त्यहीं सफल बनाउन सकिने तर त्यसका लागि साहस गर्नु पर्छ भन्ने चेतना दिने बताए ।
उक्त उपन्यास खासमा प्रेम विषयक उपन्यासको रुपमा बुझ्न सकिने छ । । एक युवतीको एकतर्फी प्रेम र त्यो प्रेम प्राप्तिका लागि उसले गरेको संघर्ष, त्याग र समर्पण हो ‘रेनी ड्रिम्स’ । यो उपन्यास प्रेम गर्नेहरुको मनमा बस्ने खालको छ । कलाकार किरण केसी, शिवहरि पौडेल र निर्देशक श्याम राई र देव कुमारले पहिलो उपन्यासका लागि सुरेन्द्र रानालाई बधाई दिएका थिए । निकै फिल्म र टेलीफिल्मको स्क्रिप्ट समेत लेख्नु भएका सुरेन्द्र रानाको ‘रेनी ड्रिम्स’ पहिलो उपन्यास हो ।

rainy dreams

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु