रोधीको यादमा रमाउँदै गणेश

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७१, बुधबार

काठमाडौं । लोकदोहोरीको नाम लिएपछि गायक गणेश गुरुङलाई अझै पनि आफ्नो गाउँको याद आउँछ । गाउँमा रोधी बसेको क्षण उनको मनमा ताजै छ । रोधी बस्दा गाइएका गीतको शब्द शब्द अझै उनै सोल्टीनीको स्वरमा उनको मनमा गुन्जिरहन्छ रे । आफ्नो जन्मिएको ठाउँ र साथीसंगीको याद कसलाई नहोला र । तर पनि गायक गणेशलाई लोकदोहोरी गाउन स्टेज पठाइयो भने छोड्न मनै लाग्दैन रे । उनी भन्छन् दर्शकहरु नाचेको देख्दा स्टेजमा अझै गाउन पाए हुन्थ्यो जस्तो लाग्छ, दर्शकको ताली नै मेरा लागि हौसला हो त्यसैले दर्शककै रमाइलोमा आफूलाई हराउन मन लाग्छ ।
गणेश यतिखेर युकेको सांगीतिक भ्रमणमा छन् । गीतसंगीतकै सेरोफेरोमा भएको उनको भ्रमणमा युकेमा धेरै सांगीतिक कार्यक्रमहरुमा सहभागी भइसकेका छन् । धेरै मेहनेत गरेर पनि संघर्षभित्रै रमाइरहेका गायक गुरुङ त्यसो त नामको चर्चामा भने त्यति देखिदैनन् । मनकामना केवलकारमा चोक एल्बमदेखि सांगीतिक यात्रा तय गरेका गायक गुरुङले लोकदोहोरी, सालैजो लगायतका लोकलयहरुमा धेरै गीत गाइसकेका छन् । करिब डेढ दशकको सांगीतिक यात्रा पार गरिसके पनि आफूलाई चर्चामा ल्याउन नचाहने गायक गुरुङ यतिबेला युकेको सांगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइरहेका छन् । गोर्खा जिल्ला गुरुङ समाज युके, निरमाया रोधी घर युके, धनबहादुर गुरुङ र गणेश गुरुङलाई उनी बिर्सन सक्दैनन् । जसका कारण उनी युकेको सांगीतिक यात्रामा सफल मानिएका छन् । त्यसो त युकेमा रहनुहुने सबै नेपालीहरुप्रति उनको सद्भाव छ । नेपालीहरुकै मायाले गर्दा युकेमा रहेर आफ्नो प्रस्तुति दिइरहन पाएको छु, नेपाली लोकसंगीतको माया गर्ने नेपालीहरुप्रति म आभार पनि छु, गायक गुरुङले भने ।

singer ganesh gurung (3)
मिठो स्वर भएका गायक गुरुङ जसरी दर्शकलाई नचाउँछन् त्यसैगरी हँसाउन पनि सक्छन् । कार्यक्रमलाई कतै पनि बोर हुन नदिईकन आफ्नो प्रस्तुति दिन सफल गायक गुरुङ पछिल्लो समय भने देश विदेशका प्रोग्रामहरुमा निकै व्यस्त हुँदै आएका छन् । केही समय युकेको भ्रमणपछि उनी नेपालमा फर्कने सोचमा रहेका छन् । नेपालमा छँदा पनि कार्यक्रमहरुमै व्यस्त हुने उनी राम्रो खेलाडी पनि हुन् । फुटबल, भलिबल खेलमा पनि उत्तिकै चासो दिएर लाग्ने गायक गुरुङका दर्जनौं गीतहरु रेकर्ड भइसकेका छन् भने दोहोरी प्रतियोगिताहरुमा निर्णायकको जिम्मेवारी धेरै सम्हालिसकेका छन् । पहिला पहिला प्रतियोगितामा भाग लिँदा पहिला, दोस्रा हुँदै प्रतियोगिता जितेको क्षण सम्झँदै उनी भन्छन् आजभोलि निर्णायक बन्ने पालो आइसकेको रहेछ । लोकदोहोरीकै आरोह अवरोहसँग आफ्ना जिन्दगीका वसन्तहरु पनि पार भइरहेको थाहै भएन उनले भने समयअनुसार गीतसंगीतको निरन्तरता दिइरहनेछु ।

singer ganesh gurung (2) singer ganesh gurung (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु