रोयल शुज दोहोरीगीत रनिङ शिल्डको उद्घाटनमा खेलकूदमन्त्रीको दोहोरी

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७१, शुक्रबार

काठमाडौं । नेपाल सरकारका युवा तथा खेलकूद मन्त्री पुरुषोत्तम पौडेलले राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तर दोहोरी साँझ स्तरीय रोयल शुज राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड कार्यक्रमको उद्घाटन गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिद्वारा आयोजित अन्तर दोहोरी साँझ स्तरीय रोयल शुज दोहोरी गीत रनिङ शिल्डको उद्घाटनसँगै मन्त्री पौडेलले आफूलाई मन पर्ने गीत भन्दै सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ की जिन्दगानीमा बोलको गीत गाएर सुनाएका थिए ।
सो कार्यक्रममा खेलकूद मन्त्री पौडेलले लोक तथा दोहोरी गीत राज्यको योजनाभित्र हुनुपर्ने बताउँदै आफूले यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले दोहोरी गीत भनेको प्रत्येक जनताको मनमुटुमा बस्न सफल भएकै कारण योप्रति सरकारको ध्यान केन्द्रीत हुने बताउँदै प्रतिष्ठानका पदाधिकारीहरु कुनै पनि बेला यसको लागि आउन अनुरोध गरे । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले स्वागत मन्तव्य दिँदै सरकारको ध्यानाकर्षण गरेका थिए । शर्माले सरकारको कुनै पनि निकायले लोक तथा दोहोरी गीतलाई वास्ता नगरेको बताउँदै मन्त्रीसमक्ष ज्ञापन पत्रसमेत बुझाएका थिए ।

folk duet song
त्यस्तै प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका सम्पूर्ण संघसंस्था क्रियाशील भएर सबै क्षेत्रबाट रोयल्टी संकलनमा जोड दिनुपर्ने बताएका थिए । शर्माले प्रत्येक दोहोरी साँझ, यातायात लगायतका सार्वजनिक स्थलमा प्रयोग हुने गीतसंगीतबाट पनि रोयल्टी संकलन गर्नका लागि सरकारी तबरबाटै पहल गरिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमरविरही गुरुङ, पूर्व अध्यक्ष दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, सल्लाहकार नारायण रायमाझी, उज्वलजंग ठकुरी, प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मालगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा लोक तथा दोहोरी गीतको क्षेत्रमा उल्लेख्य योगदान दिने तीन जना नरहरि न्यौपाने, लक्ष्मी सापकोटा, नारायण सत्याल व्यक्तित्वलाई सम्मान गरिएको थियो । त्यस्तै मानर्थ सदस्यता लिने व्यक्तित्वहरुलाई मानर्थ सदस्यता प्रदान गरिएको थियो ।

gorkha
औपचारिक कार्यक्रपछि अन्तर दोहोरी साँझ स्तरीय रोयल शुज राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड अन्तर्गत राजधानी र मोफसलबाट सहभागी दोहोरी साँझहरुको प्रतिस्पर्धालाई प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धाको सुरुवात बाग्लुङ कालिका दोहोरी साँझ बसपार्क र नीरमाया रोधी क्लब कमलादीबाट भएको थियो । आइतबारसम्म चल्ने यो दोहोरी प्रतियोगितामा २७ वटा दोहोरी साँझहरु सहभागी भएका छन् । जसमध्ये आज भएको खेलमा ८ वटा प्रतियोगी सहभागी थिए । ८ प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिताबाट बाग्लुङ कालिका दोहोरी साँझ बसपार्क, मायालु दोहोरी साँझ, गोर्खाली दोहोरी साँझ, मिर्मिरे दोहोरी साँझ बुटवल, लजालु दोहोरी, पोखरा दोहोरी साँझले जित हासिल गरेका छन् भने फेवा रोधी क्लब, नेपाली दोहोरी साँझ भने प्रतिस्पर्धी नभएका कारण स्वतः विजयी भएका छन् । आज भएको खेलमा एक प्रतियोगिता बाँकी रहेका कारण उक्त खेल भोलि गरिने भएको छ भने भोलिबाट १४ वटा टिम क्वाटर फाइनलमा प्रवेश गर्ने भएका छन् ।

people hemanta sharma baglung kalika prajapati badri pangeni purusottam poudel purusottam badri_purusottam

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु