लक्ष्मीलाई सेल्फी खिच्ने आइफोन चाहियो

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७२, आईतवार

काठमाडौं । गायिका लक्ष्मी मल्ललाई यतिबेला सेल्फी खिच्ने रहर जागेको छ । सबैजना साथीसंगीहरु आइफोन जस्ता ठूला ठूला मोबाइल लिएर सेल्फी खिच्दै हिंडेपछि उनलाई पनि सेल्फी खिच्ने रहर जागेको हो । सबैले फेसबुकमा मुख चुच्चो पार्दै सेल्फी फोटो अपलोड गरेपछि उनलाई पनि आइफोनको आवश्यकता परेको हो ।

भेट भयो की संगीनीले मोबाइल झिक्न थाल्छन्
राम्रो राम्रो सेल्फी खिची फेसबुकतिर हाल्छन्
पाउजु पाउमै, चुरा नाडीमा
यसपालीको तिजमा मलाई आइफोन किनिदेऊ न
सेल्फी खिच्नु बाबा रातो साडीमा

श्रीकृष्ण बममल्ल आधुनिक संगीतमा स्थापित नाम हो भने लोकगायनको यात्राबाट उनले सांगीतिक यात्राको सुरुवात गरेका हुन् भन्दा फरक पर्दैन । पछिल्लो समयका व्यस्त गायक एवं संगीतकार श्रीकृष्णको शब्दमा आएको तिजको गीत सेल्फी खिचौंला यतिबेला बजारमा चर्चाको शिखरमा रहेको छ । गायक बसन्त थापाको संगीत रहेको यस गीतमा गायिका लक्ष्मी मल्लको स्वर छ भने थापाले स्वरमा साथ दिएका छन् । यो गीतले तिज नजिकिँदै गर्दा आधुनिक जमानाका नारीहरुको आवश्यकतालाई झल्काउन थालेको छ । जमाना नै सेल्फीको भएपछि मल्लको तिज गीतले पनि सेल्फीको सदुपयोग गर्ने पक्का छ ।

laxmi malla -teej
लक्ष्मी मल्ल र श्रीकृष्ण बममल्ल एउटा सांगीतिक जोडी हो । पहिला केही लोकदोहोरी गाएपछि घरव्यवहारमै सीमित रहेकी गायिका लक्ष्मी मल्लले यो तिजबाट आफूलाई पुनः गायनमा ल्याएकी हुन् । दश वर्षको लामो अवधिपछि गायनमा फर्केकी लक्ष्मीको यो प्रतिभालाई देखेर श्रीकृष्णले भने – ‘नजिकको तीर्थ हेला भएको रहेछ । घरभित्र नै एउटा यस्तो प्रतिभा हुँदाहुँदै मैले बिर्सिरहेको रैछु । धेरैका लागि शब्द र संगीत खर्चिसकेको छु तर घरभित्र के छ भनेर मैले सोच्न पनि भ्याएको रहेनछु ।’ यतिबेला देशविदेशबाट राम्रो प्रतिक्रिया बटुलिरहेको यो गीतले तिजको अवसरमा पनि राम्रो चर्चा कमाउन सफल हुने आशा श्रीकृष्णको छ । अबका दिनमा गायिका लक्ष्मी मल्ललाई नै धेरै गीत गाउन दिने र संगीतको अध्ययनमै लगाउने सोचमा रहेका श्रीकृष्णले भने – घरभित्रको प्रतिभा छाडेर म बाहिर दौडिने छैन । लक्ष्मीले राम्रो गाउन सक्छिन् प्रमाणका रुपमा यो गीतलाई लिएको छु ।
यसपालीको तिजमा मलाई आइफोन किनिदेउ न सेल्फी खिच्नु छ बोलको यो गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा दुर्गेस र करिश्माको अभिनय रहेको छ । साइभिजन प्रालिले निर्माण गरेको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् भने करण चैंसिरको छायाँकन रहेको छ । यस गीतलाई टी टाइम म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु