लाहुरे नभएपछि गायक भएँः गुरुङ

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७३, सोमबार

लोकदोहोरीमा एउटा चर्चित नाम हो गणेश गुरुङ । गाउँको रोधी बस्दाबस्दै गायक बने तर उनको पारिवारिक पृष्ठभूमि भने लाहुरे थियो । हुन त उनी पनि लाहुरे हुन धेरै दौडिए । ब्रिटिस लाहुरे बन्ने दौडमा उनले अन्तिम २०५८÷५९ सम्म कहिले कता कहिले कता दौडिरहे । गल्लाले नाप्दानाप्दै उनको लाहुरे हुने सपना पोखरामा पुगेर टुंगियो । उनका बुबा पनि ब्रिटिस लाहुरे, हजुरबुबा पनि लाहुरे थिए । उनीभित्र पनि लाहुरे हुने भूत चढेको थियो । लाहुरे हुने सपना बुन्दै गर्दाको एउटा अविश्मरणीय क्षण सुनाउँदै उनले भने– ‘जब म लाहुरे बन्न हिंडे छोरी दिनेको भीड लाग्यो, तर लाहुरे नहुने पक्का भएको दिनबाट छोरी दिनेहरु त्यो बाटो नै हिंड्न छाडे ।’ उनी पनि लाहुरेकै सपना देखेर दौडिएका थिए तर सपना पूरा भएन । अन्ततः उनका सबै भाइ लाहुरे भए उनको सपना भने लाहुरे भएन गाइने भयो । अर्थात् उनी चल्तीका गायक बने ।

ganesh
गायक गुरुङ लाहुरे हुने सपनाबाट टाढा बन्दै मुलुकभित्र हुने लोकदोहोरी प्रतियोगितामा भाग लिँदै गए । जति प्रतियोगितामा उनले सहभागीता जनाए सबैमा प्रथम मात्रै भए । २०५९ सालमा चैतेदशैं खुला दोहोरी गीत प्रतियोगिता पोखरामा प्रथमभएपछि उनको निरन्तर प्रथम हुने यात्रा जारी रह्यो । करिब एक दर्जन प्रतियोगितामा भाग लिएका गायक गुरुङले प्रतिस्पर्धालाई थाति राख्दै एल्बम प्रकाशनतर्फ लागे । मनकामना केबलकारमा चोक नामक लोकदोहोरी एल्बम २०६१ सालमा बजारमा ल्याए । त्यसपछि उनको दोहोरी गायन रेकर्डतर्फ उन्मुख भयो । करिब एक दर्जन एल्बम बजारमा ल्याएका गुरुङको वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्ला धुपैले, गोरखा मनकामना, रहर जस्ता एल्बम बजारमा आए । उनले गाएका गीतहरु संख्यात्मक हिसाबमा धेरै भए पनि चर्चाको शिखरमा भने कमै छन् भन्दा फरक पर्दैन । पछिल्लो समय उनले गाएको गीत सल्ला धुपैले चर्चामा पनि रह्यो र म्यूजिक खबर म्यूजिक अवार्डसमेत हात पार्न सफल भयो । त्यस्तै उनको लय र शब्द रहेको गोरखा मनकामना पनि सबैभन्दा बढी चर्चामा रह्यो ।

ganesh gurung
गोरखा मनकामनामा जन्मे हुर्केका गणेश गुरुङ लोक संस्कृतिमै जन्मे हुर्के र लोकसंस्कृतिमै रमाउँदै छन् । नेपालीपन बोकेका ठेट गीत गाउन र बनाउन सिपालु उनी नेपाली माटो सुहाउँदो गीत सिर्जना गर्ने गर्छन् । दर्जनौ सम्मान र अवार्ड प्राप्त गरिसकेका गुरुङले यस वर्ष नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयको राष्ट्रिय प्रतिभा पुरस्कारसमेत हात पारेका छन् । सांस्कृतिक कार्यक्रमकै शिलशिलामा मकाउ, बेलायत, चाइना, कतार, बैंकक लगाएत दर्जनौ मुलुक पुगिसकेका छन् ।
तमु गुरुङ कलाकार संघको नवनिर्वाचित महासचिवसमेत रहेका उनी सयपत्री सांस्कृतिक समुह नेपाल शाखा अध्यक्ष समेत हुन् । विभिन्न संघसंस्थामा आबद्ध रहेर नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका गुरुङको पहिचान नै लोकदोहोरी बनेको छ ।

ganesh grg
२०६७ मा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका गणेशले झन्डै डेढ दर्जन गुरुङ चलचित्रमा संगीत गरिसकेका गणेश ‘गुरुङ चलचित्र अवार्ड २०७३’मा उत्कृष्ट संगीतकार तथा गीतकारको अवार्ड समेत हात पर्न सफल भएका थिए ।
हाल तीज लगत्तै आफ्नो नयाँ सांगीतिक कोसेली ‘गगन पानीमा’ ल्याउने तैयारीमा जुटेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु