लोक गायनमै फर्किए सन्तोष

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७१, शनिबार

काठमाडौं । अहिले चल्तीमा रहेका चलचित्रका संगीतकार हुन् या आधुनिक गीतसंगीतका संगीतकार यी सबैको आधार भने लोकगीतकै क्षेत्र हो । संगीतकार अर्जुन पोखरेल हुन् या दिपक शर्मा, सन्तोष श्रेष्ठ हुन् या श्रीकृष्ण बममल्ल सबैको सांगीतिक आधार भने लोकसंगीत नै हो । संगीतकार सन्तोष श्रेष्ठले पहिला दर्जनौं लोकदोहोरी गीतमा स्वर दिए तर सफलता प्राप्तिमा हात लाग्यो शून्य भयो । त्यसपछि लोकदोहोरीकै क्षेत्रमा क्रियाशील त रहे तर प्रगति हुने छाँटकाट नदेखेपछि लोक गायन छाडेर आधुनिकमा लागेका थिए । तर आधुनिक गीतबाट पनि आफ्नो करिअर नदेखेपछि बालुवामा पानी खन्याएजस्तै लगानी डुब्न थालेपछि विकल्पको खोजीमा भौंतारिएका थिए । फलस्वरुपः उनी विदेशतिर हानिए । करिब ६ महिना लामो विदेश बसाईपछि नेपाल फर्किएका श्रेष्ठ त्यसपछि आफूलाई आधुनिक संगीतमा स्थापित हुन सफल भए ।
लोकगायनबाट सांगीतिक करिअर सुरु गरेका श्रेष्ठले संगीत दिएको तिम्ले पराई ठानेपछि बोलको गीतले सुगमसंगीतको क्षेत्रमा कोशेढुंगा नै सावित गरिदियो । त्यसपछि निरन्तर सुगम संगीतमा उचाई कायम राख्दै आएका श्रेष्ठ अहिले पुनः लोकगायनमै फर्किएका छन् ।
उनले गत विहीबार राजधानीको अनामनगरस्थित आलाप रेकर्डिङ् स्टुडियोमा गायिका राधिका हमालसँग सरसफाइ सम्बन्धि लोक गीतमा आवाज भरेका हुन् । दिनदिनै रेलिमै मौलायो बेतिथि, फाल्नै पर्छ रेलिमै बिग्रेरेको कुरीति बोलको गीतमा उनले आवाज भरेका हुन् । दामु मर्सिफूलको रचना रहेको यो गीतमा श्रेष्ठ आफैले संगीत भरेका छन् । त्यस्तै गीतकार रमेश सुवेदीले लेखेको गीतमा पनि कोमल वली र सन्तोष श्रेष्ठले स्वर दिने भएका छन् । उक्त गीतको संगीत पनि श्रेष्ठकै रहने बताइएको छ । त्यसो त संगीतकार श्रेष्ठको यो साता सांगीतिक हिसावले सरसफाई सप्ताहा जस्तै भएको छ । उनले एकै पटक सरसफाई सम्बन्धि चार वटा गीतमा संगीत भरेका छन् भने दुई गीतमा आवाज समेत भरेका छन् । उनले संगीत गरेका सरसफाई सम्बन्धि गीतहरुमा गायक गोविन्द मधुर आचार्य, गायिका सुधा रत्न, रिता केसी, राधिका हमाल लगायतका कलाकारसँगै उनी आफैंले आवाज भरेका छन् । सरसफाई सम्बन्धि यी गीतहरुको रोल्पामा म्युजिक भिडियो निर्माण गरिने गीतकार रमेश सुबेदीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु