विदेशिएका नेपालीलाई पलायन भन्न छाडौं : खरेल

म्यूजिक खबर
प्रकाशित: २ जेष्ठ २०७२, शनिबार

काठमाडौं । नेपाली सुगमसंगीतका चर्चित गायक प्रमोद खरेलले विदेशमा गएर रोजगारी गरिरहेका नेपालीहरुलाई पलायन भन्न नमिल्ने बताएका छन् । खरेलले टेलिभिजनमा दिएको अन्तरवार्तामा बोल्दै विदेशका विभिन्न देशमा रहेका युवाशक्ति विभिन्न कारणबाट विदेशमा पुगेर उता काम गरिरहेको र उनीहरुले स्वदेशमा भित्र्याएको रेमिट्यान्सले मुलुक धानिरहेको अवस्थामा अब उनीहरुलाई पलायन भएको भन्न छाड्नुपर्ने बताएका हुन् । गायक खरेलले बैशाख १२ गते गएको भुकम्पमा परी मुलुकमा भएको जनधनको क्षतिलाई मलम लगाउने काम विदेशमा नै कार्यरत रहेका नेपालीहरुले गरिरहेका उल्लेख गर्दै जति युवाशक्ति विदेश गएका छन् उनीहरुकै सहयोगमा नेपालका भुकम्प पीडितहरुले राहत पाइरहेका छन् भने उनीहरुलाई पलायन भन्न नमिल्ने बताए ।

पलायन भएको व्यक्तिले आफ्नो देशको कुनै वास्ता नै गर्दैन खरेलले अन्तर्वार्ता दिँदै भने हाम्रा नेपाली युवाहरु स्वदेशमा भएको बेरोजगारी समस्या, अध्ययनको क्रममा होस् अन्य विजनेश लिएर विदेशमा बस्दै आएका छन् उनीहरुले कमाएको सानो रकम आज मुलुकका लागि ठूलो सहयोग बन्न पुगेको छ तर हामीहरु उनीहरुलाई पलायन भए भन्ने आरोप लगाउँछौं त्यो कदापि हुन सक्दैन । विदेशमा बस्ने नेपालीले अनलाईन, टेलिभिजन, रेडियो जे सुनेका र देखेका छन् ती सबैमा नेपालको बस्ती कहीँ कतै पनि नरहेको जस्तो देखिएको हुँदा सबैभन्दा पीडा विदेशमा रहनेलाई भएको बताउँदै वास्तविकता भन्दा धेरै माथिरहेर विदेशबाट राहत आइरहेको बताए । भुकम्प पीडितलाई हामी मुलुकमा रहनेले भन्दा धेरै विदेशमा रहने नेपालीको सहयोगले अहिले ठूलो राहत मिलेको उनले बताए । मातृभूमिप्रतिको माया विदेशमा रहने नेपालीमा धेरै रहेको बताउँदै खरेलले अब पलायन भन्ने शब्द छाडेर उनीहरुलाई सम्मान गर्न सिकौं भने । मुलुकमा भुकम्प जाँदा अमेरिकाको सांगीतिक यात्रामा रहेका गायक खरेलको टोली भुकम्पले क्षतविक्षत भएको मुलुकप्रतिको जिम्मेवार प्रकट गर्न कार्यक्रम रद्द गरी नेपाल फर्किएका थिए । हाल राहतको कार्यक्रममा व्यस्त रहेका खरेलले सबैले आआफ्नो ठाउँबाट जति सकिन्छ त्यति सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु