विदेसिएका साथी सम्झिँदै उत्तम

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७०, बुधबार

काठमाडौं । युवा गायक तथा संगीतकार उत्तम थापामगर यतिखेर चर्चामा छन् । भर्खरै मात्र ‘भ्वाइस रेकर्ड’ नामक एल्बम ल्याएका उत्तम प्रवासी नेपालीको गीत गाएर चर्चामा आएका हुन् । उनको ‘विदेसिएका साथीलाई सम्झेर यो गीत गाउँदै छु’ बोलको गीत देश, विदेशमा रहेका नेपालीमाझ लोकप्रिय बन्दै छ । उत्तम भन्छन्, ‘यो गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु ।’ साथै, उत्तमका ‘यो गीत गाउँदै छु’, तिम्रै सम्झनामा’ जस्ता गीति पनि चर्चामा छन् ।
नेपाली गीत–संगीतबाट विदेसिएको भावना पोखेका गायक उत्तमले पहिलो एल्बमका रूपमा २०६६ सालमा ‘तिम्रो मायामा’ एल्बम ल्याएका थिए । सो एल्बम व्यावसायिक रूपमा सोचजस्तो नभए पनि आफूलाई गायनमा स्थापित गरेको उनले बताए । तर, यसपटक भने धन कमाउन विदेशी भूमिमा संघर्ष गरिरहेका युवालाई सम्झेर गाएको गीतबाट राम्रै चर्चा पाइरहेको छन् । आफूले गाएको गीत देशविदेशमा रहेका नेपालीले मन पराइदिँदा उत्तम पनि दंग छन् ।
हुन त सिन्धुलीको ठकाहाका उत्तमले संगीतमा समय खर्चेको करिब एक दशक बितेको छ । सानैमा स्कुल पढ्दाखेरी नै गीतसंगीतको नशामा झुमेका उत्तमले ०६० सालेदेखि औपचारिक रूपमा गायन सुरु गरेका हुन् । ‘स्कुल पढ्दा गाउँमा हुने हरेक कार्यक्रममा गीत गाउँथँे,’ उनले भने, ‘सरस्वती पूजा होस् वा दसैंमा हुने कन्र्सट कुनै छुटाउँदिनथेँ ।’
जब ०६६ मा पहिलो एल्बम ‘मायामा’ ल्याए, त्यसपछि झनै गायनमा हौसिएको बताउँदै उनले भने, ‘अहिले त गायन सुरु गरेको पनि एक दशक बितेछ । अझै मिहिनेत गरिरहेकै छु ।’ भर्खरै ल्याएको ‘भ्वाइस रेकर्ड’मा समेटिएका गीतले बिदेसिएका युवाको भाव बोलेको बताउँदै उनले भने, ‘गीतमाा म वास्तविकता चाहन्छु ।’ गुरुकुल संगीत पाठशालामा ०६३ सालदेखि निरन्तर संगीत प्रशिक्षण लिइरहेका उत्तम विशेष गरी शास्त्रीय तथा र आधुनिक गीत गाउन रुचाउँछन् । गायनबाट करिअर सुरु गरेको भए पनि उनी हिजोआज संगीत गर्छन् । आफ्नो गीतबाहेक अरूको एल्बममा पनि संगीत दिँदै आएका उत्तम भन्छन्, ‘व्यावसायिकका लागि संगीत गर्छु । इच्छा पूरा गर्न गाउँछु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु