‘शत्रु गते’ को बहु प्रतिक्षीत ‘रुपै मोहनी’

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७४, शनिबार

१५ पुष, काठमाडौं । महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा‘शत्रु गतेमा समावेश ‘रुपै मोहनी’बोलको गीत हिजोबाट सार्बजनिक भएको छ ।
शुक्रबार औपचारिक कार्यक्रमगरी गीत सार्बजनिक गरिएको हो । छायाँङकनकै समयदेखि चर्चामा रहेको यो गीत बहुप्रतिक्षीत बनेको छ । सामाजिक सञ्जालहरुमा दर्शक श्रोताहरुले उक्त गीत हेर्न ब्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको प्रतिकृया दिइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।  सिनेमाको यो गीतको छायाँङकनमा तीनदिन समय र झण्डै १५ लाख खर्च भएको निर्देशक प्रदीप भटटराईले जानकारी दिएका छन ।


गीतकार लोकराज अधिकारीका शब्द र टंक बुढाथोकीको संगीत रहेको यस गीतमा टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ । गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरी पौड्याल, बसुन्धरा भुसाल लगायतलाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । भोलि सार्बजनिक हुने गीतबारे प्रतिकृया दिदै कोरियोग्राफर गहतराजले भने, ‘गीतको कोरियोग्राफी राम्रो बनेकोमा दुई मत थिएन । तर यति राम्रो बन्छ भन्ने चाहि लागेको थिएन । यो गीतपछि अब नयाँ ट्रेण्डनै बस्ने बिश्वास छ मेरो ’।
गीतकार लोकराज अधिकारीले चलचित्रको गीति लेखनमा आफूले सुन्दर अबसर पाएको र त्यो अबसरको भरपुर सदुपयोग गरेको बताए । अधिकारीले भने, ‘गीतमा मेहनत पनि असाध्यै परेको छ । सिनेमाको कथामा फिट हुने शब्द लेख्दै सुनाउदै, काट्दै र संयोजन गर्दा झण्डै सत्र दिन खर्च गरेको छु । गीत रेकर्ड हुँदाकै बेलादेखि आशाबादी थिएँ । भिडियो हेरेपछि उत्साहित भएको छु । चलचित्रको गीति लेखनमा यो गीत मेरो माइलस्टोन बन्न सक्छ भन्ने आशा छ ।’

त्यस्तै संगीतकार टंक बुढाथोकीले यो गीतमा आफूले धेरै नै चुनौती महशुस गर्दै अन्तिम समय सम्म पनि राम्रो बनाउने प्रयास गरेको बताए । उनले भिडियो हेर्दा अन्यन्तै सन्तुष्टि मिलेको पनि प्रतिकृया दिए । उनले भने, ‘म पनि ब्यग्र प्रतिक्षामा छु । दर्शक श्रोता सबैको मायाँ पाउने बिश्वास छ’ ।
त्यसैगरी सिनेमाका प्रस्तुत कर्ता किरण केसीले भने, ‘मैले राम्रो भएरै चलचित्रमा फिट हुने भएर नै यो गीत राखेको हुँ अहिले धेरै भन्दिन गीतका बारेमा एउटै शब्द भन्छु ‘आगो आगो’ ।’

किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’ वीरगंज र काठमाण्डौमा छायाँङकन गरिएको हो । सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमाले चैत्र ९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु