शान्तिराम राईको नेतृत्वमा संगीतकार संघ, पूरा होला त संघको सपना ?

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०७५, आईतवार

१३ जेठ, काठमाडौं । संगीतकार संघको आठौं वार्षिक साधारणसभाबाट संगीतकार शान्तिराम राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । केही पुराना र केही नयाँ अनुहारसहित नयाँ कार्यसमिति चयन भएको हो । राई यो भन्दा पहिला उपाध्यक्ष रही कार्यसंचालन गर्दै आएका थिए भने लक्ष्मण शेष अध्यक्ष रहेर काम गरिरहेका थिए । राईको नेतृत्व आउँदै गर्दा लक्ष्मण शेषले दुई कार्यकालसम्म रहेर आफूलाई संघको गतिविधिमा उल्लेख्य काम गरेर देखाएका थिए । शेषले देखेको कल्याणकारी कोषको बृहत सपना अब राई नेतृत्वले के कति पूरा गर्नेछ भोलिका दिनले बताउनेछ । हुन त शेषको नेतृत्वमा भएको कार्यसमिति पुरैलाई जस जान्छ । शेषको कार्यसमितिमा नै रहेर राईले पनि कार्यसम्पादनमा साथ दिएका थिए । अब राई अध्यक्षमा आए भने केही नयाँ सदस्य र केही पुराना सदस्य गरेर कार्यसमितिले पूर्णता पाएको छ ।


अध्यक्ष राईसहित संघको वरिष्ठ उपाध्यक्षमा सुनिल मास्के रहेका छन् भने प्रथम उपाध्यक्ष महेश खड्का, द्वितीय उपाध्यक्ष चेतन सापकोटा रहेका छन् । त्यसैगरी महासचिवमा पारस मुकारुङ चयन भएका छन् । त्यस्तै सचिवमा बसन्त सापकोटा, कोषाध्यक्षमा हरि लम्साल पुनः दोहोरिएका छन् । त्यस्तै सदस्यहरुमा राजेश थापा, शशि रावल, जेम्स प्रधान, मिलन मोक्तान चयन भएका छन् । संरक्षकमा भने संस्थापक अध्यक्ष शम्भूजित बास्कोटा र निवर्तमान अध्यक्ष लक्ष्मण शेष रहेका छन् ।


अध्यक्षमा निर्विरोध चयन भएपछि शान्तिराम राईले संस्थाले अगाडि बढाएको योजना, स्रष्टाको नैतिक, आर्थिक, बौद्धिक अधिकारका विषयलाई संघले पूरा गर्ने लक्ष्य लिएको बताए । त्यस्तै लक्ष्मण शेषको कार्यकालमा सुरु भएको मेची महाकाली अभियानलाई पूरा गर्ने र संघको कल्याणकारी कोष बृद्धि, संगीत आश्रमका विषयलाई पनि अगाडि बढाउने लक्ष्य लिएको राईले बताए ।

संघले आफ्नो विधानलाई संशोधन गरेको छ । संसोधित बिधान अनुसार दुई सदस्य नयाँ कार्य समितिले थप गर्नेछ । निवर्तमान अध्यक्ष लक्ष्मण शेष संघको संरक्षक बनेका छन् । संघको बिधानले पुर्व अध्यक्षलाई संरक्षक तोकेको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा भएको उद्धघाटन सत्रमा बिशेष अतिथि संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुबेदी, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली,संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकाल, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देबकोटा,संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर, संगीतकला पत्रकार संघका अध्यक्ष सुमन पण्डित लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।
शुभकामना मन्तब्यका क्रममा बक्ताहरुले नेपाली संगीत क्षेत्रको श्रीबृद्धि र स्रष्टा सर्जकको हक अधिकारको लागि एकजुट भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यसैगरी संगीतकर्मी कल्याणकारी कोष सञ्चालनको कार्यबिधि पनि संसोधन गरेको छ । त्यसै अवसरमा संगीतकर्मी कल्याणकारी कोषका दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाणपत्र र लोगो प्रदान गरिएको थियो ।

संगीतकार शान्तिराम राईको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिलाई म्यूजिक खबर परिवार हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु