काठमाडौं । सांगीतिक यात्रामा सबल संगीतकारका रुपमा देखिएका संगीतकार अर्जुन पोखरेल यतिबेला मुम्बईतिर लागेका छन् । संगीत शिक्षाको प्राविधिक ज्ञानसमेत हासिल गरेका संगीतकार अर्जुन पोखरेल यतिबेला दश दिनको संगीत ट्रेनिङका लागि मुम्बईतर्फ लागेका छन् । पोखरेलले मुम्बइमा पछिल्लो समय चर्चामा रहेका गायक अर्जित सिंह, मिका सिंह, आथिफ अस्लामसँग सहकार्य गर्ने भएका छन् । त्यस्तै भारतबाट नै रिलिज गर्ने तयारी गरिएको एक हिन्दी गीत क्या कछु नही होता प्यारमे सनम, कौन यार नही रोहता प्यारमे सनम रेकर्ड गर्दैछन् ।
गायक बन्ने सपनाबाट लोकदोहोरीको क्षेत्र हुँदै संगीतको क्षेत्रमा प्रवेश गरेका संगीतकार अर्जुन पोखरेल एकाएक सफल संगीतकारको सूचिमा देखिए । गायनको क्षेत्रलाई छाडेर संगीत गर्नतर्फ लागेका संगीतकार पोखरेल बहुप्रतिभाका धनी हुन् भन्दा पनि हुन्छ । लोकदोहोरी होस् या आधुनिक, चलचित्र होस् या पप, संगीत होस् या एरेन्ज त्यति मात्र होइन अर्जुनको परिचय राम्रा गीतकार पनि हुन् ।
छुट्छकी साथ बोलको दिलमाया चलचित्रको गीतबाट चलचित्र संगीतमा चर्चा बटुल्न थालेका पोखरेलको पछिल्लो समय एकपछि अर्को गर्दै अरु चर्चायोग्य गीतहरु पनि बजारमा आए । सुन्छु तिमीले मलाई, सररर बेग मारी बेनीको बस आयो, तिम्रो आँखामा आँसु हेरि, धुवाँसरी फैलेछ कुरोत, धेरैलाई नपुग्ला माया, बाटो मोडेर गयौ लगायत अर्जुनको संगीतमा थुप्रै चर्चा बटुल्न सफल गीतहरु रहेका छन् ।
पछिल्लो समयमा अर्जुन जति व्यस्त छन् अझ व्यस्त चलचित्रका ठूला ब्यानरहरुको कामले बनाएको छ । यतिबेला अर्जुन छविराज ओझा, सुदर्शन थापा, दयाराम दाहाल, सुशील पोखरेल, भानु महर्जन, ज्ञानेन्द्र देउजा, शिव शर्मा, दिवाकार भट्टराईलगायतका निर्माता निर्देशकहरुको चलचित्रमा काम गर्दैछन् भने देवल भण्डारीको शब्दमा रहेको आधुनिक एल्बममा नेपाली तथा हिन्दी गायकहरुको स्वर भर्ने काममा व्यस्त भइरहेका छन् ।