सन्तोषको २१ औं एल्बम ‘सुरक्षा’ राष्ट्रकविद्वारा सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७४, आईतवार

सन्तोषको ‘सुरक्षा’ विमोचन गर्दै राष्ट्रकविले भने ‘नयाँ पुस्ताको संगीतमा प्रगती देख्दा अर्को जुनी पाउँ भन्ने लाग्छ’


पुष २३, काठमाडौं । झण्डै २ दशकदेखि नेपाली गीत संगतमा निरन्तर लाग्दै आएका संगीतकार सन्तोष श्रेष्ठको राष्ट्रिय भावका शब्द समेटिएको एल्बम ‘सुरक्षा’ विमोचन गरिएको छ । सुरक्षालाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरका हुन् । संगीतकार श्रेष्ठको यो २१ औं गीति एल्बम हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रकवि घिमिरेले भने ‘राष्ट्रिय भावले ओतप्रोत गीतहरुको अहिले झन् सान्दर्भिकता रहेको र नयाँ पुस्ताले साहित्य, गीत र संगीतमा गरेको प्रगति देख्दा आफूलाई अर्को जुनी पनि पाउँ भन्ने जस्तो लाग्छ ।’

सुरक्षामा राष्ट्रकवि माधवप्रसाद घिमिरे, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, नवराज लम्साल, रमेश क्षितिज, श्रीपुरुष ढकाल र भावेश भुमरीका शब्द रहेका छन् । राष्ट्रकवि घिमिरेको ‘किन्नरी किन्नरी’ नामक कविता संग्रहबाट यो गीत साभार गरिएको संगीतकार श्रेष्ठले बताए ।

एल्बममा ८ वटा गीत छन् । राष्ट्र कविको शब्द र शिव परियारको स्वरमा सजिएको ‘पश्चिम रुन्छ महाकाली‘’ देखि कालीप्रसाद रिजालको शब्द र मनोजराज शिवाकोटीको स्वरमा सजिएको ‘सुनहे सुन तन्नेरी हो‘’, दिनेश अधिकारीको शब्द र कर्म ग्याल्छेन बमजनको स्वरमा सजिएको ‘पूर्व जागौं पश्चिम जागौं‘’ एल्बममा समेटिएको छ ।

 

त्यस्तै, श्रीपुरुष ढाकालको शब्द र सन्तोष स्वयंकै स्वर रहेको ‘आफ्नो माटो सबैलाई‘’, रमेश क्षितिजको शब्द र भविन ढुंगानाको स्वर रहेको ‘देश टेक्ने जमिन यही हो‘’, डा. नवराज लम्सालको शब्द र मनोजराजको स्वर रहेको ‘सम्मान गरौँ सबैलाई‘’, लम्सालकै शब्द र सन्तोषकै स्वर रहेको ‘सकिएला संसार छोड्न‘’ र भावेश भुमरीका रचना र थुप्तेन भुटियाको स्वर ‘हाम्रो देश स्वतन्त्र छ‘’ गीत पनि एल्बममा रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय कविको रचनामा सन्तोषको संगीत र शिव परियारको स्वर रहेको ‘पश्चिम रुन्छ महाकाली, पुर्व रुन्छ मेची, जब तिमी रमाउँछौ आफ्नै आत्मा बेची’ गीतको म्यूजिक भिडियो समेत प्रस्तु गरिएको थियो । भिडियोलाई सञ्चारकर्मी शान्तिप्रियले निर्देशन गरेका हुन् । निर्मल शर्मा, ज्योती प्रकाश विक, सारिका घिमिरे र सुमन वैरागीलाई फिचरिङ गरिएको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’को छायाँकन रहेको छ ।

विमोचन कार्यक्रममा संगीतकार शक्ति बल्लभ, विश्वबल्लभ, अधिवक्ता एवं गायक भिमार्जुन आचार्य, गायक आनन्द कार्की, गायिका मन्जु पौडेल, अमुल कार्की ढलीनेपाल पत्रकार महाससंघका उपाध्यक्ष विपुल पोखरेल, पत्रकार शान्तिप्रिय, उदय जिएम,लगायत गीत संगीत, साहित्य र पत्रकारिता क्षेत्रका थुप्रै विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु