सफल साङ्गीतिक जोडी

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७३, शुक्रबार

सबिता पोखरेल/म्यूजिक खबर

संसारका प्रेमील जोडीहरुको महान दिवस भ्यालेन्टाइन डे पाश्चात्य सभ्यताका देशहरुमा मनाउन थालिएको लामो समय भैसकेको छ । आधुनिकतातर्फ लम्किरहेको हाम्रो नेपाली समाजमा पनि विगत पछिल्ला वर्षहरुदेखि प्रेमील युवा युवतीहरु यस दिवसलाई निकै महत्वका साथ मनाउन थालेका छन् । हुन त कतिपयले यो पर्व खाली एक युवा र युवतीको प्रेम अभिव्यक्तिको रुपमा मात्रै नमानेर समग्रमा प्रेममय बनाउनुपर्छ पनि भन्ने गरेका छन् । प्रेम मानवको सबैभन्दा शक्तिशाली संवेदना हो । भनिन्छ, संसार प्रेमले नै अडिएको छ । यसर्थ प्रेम दिवस अविवाहित प्रेमीहरुका लागि मात्र नभई सफल दाम्पत्य जीवन चलाइरेका जोडीका लागि पनि झन् आवश्यक देखिन्छ । यसै सन्दर्भमा हामीले एउटै धरातलमा अर्थात् सांगीतिक क्षेत्रमा सहकार्य गर्दै आएका उदाहरणीय, आकर्षक र आदर्श सांगीतिक जोडीहरुलाई यहाँ प्रस्तुत गरेका छौं । जसले रमाइलोका साथ सहयात्रा गरिरहेका छन् । घरगृहस्थी चलाइरहेका छन् । प्रेमालाप गर्दै दुई जीवन एक कर्म बनाएर जीवनमा खुसी देखिएका छन् ।

kunti-shila-moktan

कुन्ती मोक्तान–शिलाबहादुर मोक्तान

कुन्ती मोक्तान–शिलाबहादुर मोक्तान
घरगृहस्थी र गायन तथा संगीतलाई साथसाथै लाने जोडी हो– कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानको । यो जोडीको सहयात्रा निकै लोभलाग्दो छ । एउटै क्षेत्र संगीतमा सक्रिय यो दम्पतीले धेरै चर्चित गीतहरु दर्शक स्रोताका लागि पस्किसकेको छ । जहाँ कुन्तीको आवाज हुन्छ त्यहाँ शिलाको संगीत पनि हुन्छ । चोली राम्रो पाल्पाली ढाकाको, कोही भन्छन् जिन्दगी, कती काट्छौ कुराहरु, निष्ठुरी मायालु, माथी माथी सैलुङ्गेमा लगायतका गीतहरुमा कुन्तीको आवाज छ भने शिलाको संगीत पनि गुन्जिन्छ ।

udit-deepa narayan jha

उदितनारायण झा–दीपानारायण झा

उदितनारायण झा–दीपानारायण झा
यो जोडीको नाम गायन क्षेत्रमा गर्वका साथ लिने गरिन्छ । उदितको गायन यात्रामा उनकी पत्नी दीपा गहतराजले पनि उनलाई साथदिएकी छिन् । दीपाले दर्जनौ नेपाली फिल्मका गीतहरु गाएकी छिन् । नेपाली संगीतको क्षेत्रमा जम्नै लाग्दा बलिउडमा छिरेका गायक हुन् उदित । उनले नेपाली फिल्मका गीतमा जति सफलता पाए त्यो भन्दा धेरै सफलता बलिउड फिल्मका गीतहरुमा पाएका छन् । उनले भारतको तर्फबाट नेशनल अवार्ड, फिल्म फेयर अवार्ड, पद्म श्री अवार्ड लगायतका अवार्डहरु हात पारेका छन् । नेपालबाट भारतमा गएर यति धेरै सफलता हात पार्ने उदित सायद पहिलो नेपाली गायक हुन् । उनका कुसुमे रुमालदेखि हालसम्मका गीतहरु नेपालमा सदाबहार बन्न सफल भएका छन् ।

ramkrishna_nilam

रामकृष्ण ढकाल–नीलम ढकाल

रामकृष्ण ढकाल–नीलम ढकाल
थुप्रै कालजयी गीतहरु गाएर लोकप्रिय बनेका गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम ढकालको जोडीलाई नेपालको सांगीतिक क्षेत्रमा आकर्षक र आदर्श जोडीको रुपमा मानिन्छ । दोश्रो नारायण गोपाल भनेर पनि चिनिने रामकृष्णका ओराली लागेको, हिरा काट्ने, विहान उठ्ने वित्तिकै देखि हुरीमा दियोसम्म आइपुग्दा प्राय सबै गीतहरु सदाबहार बन्न सफलभ भएका छन् । भने नीलम ढकालले पनि म्यूजिक भिडियोहरुमा मोडलिङ गरेर आफूलाई सक्रिय बनाएकी छिन् । भ्यालेन्टाइन डेलाई समय अनुकुल रहेसम्म यो जोडीले एनिभर्सरीकै शैलीमा मनाउने गरेको छ । रामकृष्ण भन्छन्— ‘प्रेम दिवस अविवाहित प्रेमि÷प्रेमिकाका लागि मात्र होइन, हामीजस्ता विवाहित जोडीका लागि पनि हो ।’

निर्मल होडा–रिमा गुरुङ होडा
सांगीतिक समूह रक योगिजमा ड्रमरका रूपमा व्यस्त छँदा संगीतकर्मी निर्मल होडाले सांगीतिक क्षेत्रकै युवतीसँग विवाह गर्छु भन्ने सोचेकै थिएनन् । तर पुराना संगीतकार प्रकाश गुरुङको तर्फबाट उनकी छोरी तथा गायिका रिमा गुरुङसँग विवाह गर्ने प्रस्ताव आएपछि निर्मलले नाइँ भन्न चाहेनन् । उनीहरूको भेटले प्रेमको रूपमा लिनुअघि नै परिवारको सल्लाहमा दुवैले विवाह गरे । रिमाका नजरको दोषी बनी, कसको आँखा लाग्यो लगायतका दर्जनौं गीत चर्चामा छन् ।

3 (1)

रामभक्त जोजिजू – ईतु जोजिजू

रामभक्त जोजिजू – ईतु जोजिजू
गायक रामभक्त र गायिका ईतु जोजिजू श्रीमान श्रीमती बनेको पनि डेढ दशक भइसक्यो । सांगीतिक कार्यक्रमका क्रममा भेटिएपछि एकअर्काको नजिक आएका यिनीहरू यतिबेला संगीतकर्ममा सफल सांगीतिक जोडीका रुपमा रमाइरहेका छन् । सँगसँगै गीति एल्बमसमेत प्रकाशित गर्दै आएको यो सांगीतिक जोडी गजल साँझहरु र कन्सर्टहरूमा समेत सँगै प्रस्तुत हुन्छ । उडेर जून छुन्छु भन्थे, के बर मागी, जहाँ भमर छ, त्यो कहिले घाम, कुनै बाटोमा, दूधैदूधलेलगायतका दर्जनौ गीत रामभक्तका सदाबहार बन्न सफल भएका छन् भने गजल गायनमा सफल यो जोडी संयुक्त गायनमा पनि उत्तिकै सक्रिय छन् ।

kanhaiya_anjana

कन्हैया सिंह–अञ्जना गुरुङ छोरी अपेक्षाको साथमा

कन्हैया सिंह–अञ्जना गुरुङ
गायक कन्हैया सिंह र गायिका अञ्जना गुरुङ एउटै पेसामा आबद्ध यी दुईको जोडी सांगीतिक क्षेत्रका लागि उदाहरणीय छ । संगीतकारका रूपमा समेत स्थापित कन्हैयाले श्रीमती अञ्जनाका लागि थुप्रै रोमान्टिक गीत तयार पारिदिएका छन् । अञ्जनाले गाएका आँखैमा राख्छु मेरो देश, जसले मुटु चुडेर लग्यो, मत काली सुन्दरी लगायत थुप्रै लोकप्रिय गीत छन् भने कन्हैयाको तिम्ले भुल्न सके पनि, पश्चिमको छोरो लगायत गीतहरु लोकप्रिय बनेका छन् । एउटै पेसामा आबद्ध भए पनि एक÷अर्कामा प्रतिस्पर्धी भावना नआउने यो जोडीको अनुभव छ । जति गायनमा यो जोडी जमेको छ त्यति नै घरगृहस्थी पनि चलिरहेको छ ।

uday manila sotang

मनिला सोताङ–उदय सोताङ

मनिला सोताङ–उदय सोताङ
नेपाली सांगीतिक क्षेत्रमा उनीहरुको जोडी जति जमेको छ, त्यति नै रमाईलो गरी घरगृहस्थी पनि चलिरहेको छ । गायनममा सक्रिय र सफल यो जोडीको चर्चा पनि नेपाली सुगम संगीतमा गर्वका साथ गरिन्छ । उनीहरुको नाममा नेपालको शान झल्किन्छ । उनीहरुको सहयात्रा निकै रमाईलो छ । परेको बेला एकलाअर्काको साथ पाउनु नै एउटै क्षेत्रको सहयात्राको फाईदा हो । यो कुरा उनीहरुको जीवनमा प्रष्टै देखिन्छ । यो जोडीले सँगसँगै सयौँ गीतमा आवाज दिएका छन् । तिमी बिना बाँच्न गाह्रो भो, उकाली चढौला लगायत दर्जनौ गीतहरुमा उदय र मनिलाको आवाज सुन्न पाईन्छ । उनीहरु सफल सांगीतिक जोडी भएर गजल गायनमासमेत परिचित भएका छन् ।

ramchandra_junu rijal

रामचन्द्र काफ्ले – जुनु रिजाल

रामचन्द्र काफ्ले – जुनु रिजाल
जुनु र रामचन्द्र काफ्लेको जोडीलाई पनि यो क्षेत्रमा आकर्षक र आदर्श जोडी मानिन्छ । घरगृहस्थी टिकाउन र सङ्गीत कर्म बिकाउन सफल यो जोडीले दर्शक, श्रोताका लागि थुप्रै लोकप्रिय सांगीतिक कोशेलीहरु समर्पण गर्दैं आएका छन् । नेपाली पप लोक, फिल्मी गीतहरुमा आवाज दिने गरेका छन् राम र जुनुले । उनीहरु एल्बम, फिल्मदेखी स्टेज शोसम्म एकसाथ देखा पर्ने गरेका छन् । एक दशकअघिदेखि सुरु भएको उनीहरुको गायनको सहयात्रा आजसम्म पनि निरन्तर छ । रामचन्द्रले गाएको दार्जिलिङको, ड्राइभरमा माइलोदेखि मात लाग्योसम्मका गीत लोकप्रिय बनेका छन् भने जुनुको फूल मञ्जरी, डाँफे झैं नाच्ने लगायतका दर्जनौं गीत लोकप्रिय छन् ।

devi gharti_raju Dhakal

राजु ढकाल र देवी घर्ती

राजु ढकाल र देवी घर्ती
नेपाली संगीतको दुनियाँमा राजु ढकाल र देबी घर्तीको जोडीलाई पनि निकै लोभलाग्दो जोडीका रुपमा लिईन्छ । लोक दोहोरीको क्षेत्रमा गरिमामय स्थान बनाउन सफल भएको देवी र राजुको जोडीले आफ्नो घरगृहस्थी टिकाउन सफल भएको छ । दुवै जना एउटै क्षेत्रमा सक्रिय भएका कारण पनि उनीहरुलाई सजिलो भएको छ । कामका बारेमा आफूलाई परेको समस्या एकर्आसँग सेयर गर्न निकै सजिलो हुने गरेको उनीहरु बताउँछन् । एक छोराका मातापिता बनिसकेका राजु र देवीले एकअर्कालाई राम्ररी बुझेका छन् । आमा खुशी, आँपैको अचार, आफू त परियो दोहारीको फ्यानलगायत उनीहरुले गाएका धेरै गीत लोकप्रिय बन्न सफल भएका छन् ।

सिन्धु मल्ल र सुदाम थापा
सिन्धु मल्ल र सुदाम थापा गायिका सिन्धु मल्लले पनि गायनमा पतिको साथ पाईन् । संगीतकार सुदाम थापाले उनको यात्रालाई साथ दिएर सहज बनाईदिए । सिन्धुले लोक गीत, आधुनिक गीत र फिल्मका गीतहरु गाएकी छिन् । उनको सबैभन्दा चर्चित गीत हो ससुरालीमा भो नजर नलगाउ कान्छी सालीमा । त्यस्तै सुदामले पनि केही गीतमा संगीत भरेका छन्, जुन गीतमा सिन्धुकै आवाज छ । सांगीतिक यात्राबाट बाँधिएको यो जोडी यतिबेला घरगृहस्तीमा व्यस्त बनेको छ ।

bipin_mandabi tripathi

माण्डबी त्रीपाठी– बिपीन आचार्य

माण्डबी त्रीपाठी– बिपीन आचार्य
माण्डबी र संगीतकार बिपिन आचार्यको सहयात्रा पनि निकै लोभलाग्दो छ । उनीहरुले काममा एकले अर्कालाई साथ र सहयोग गर्ने गर्छन् । एकले अर्कालाई राम्ररी बुझेका कारण पनि उनीहरुले राम्रो सफलता हात पारेका छन् । माण्डवीको ढल्क्यो ढल्क्यो, बारुले कम्मर, सिम्पल सिम्पल जस्ता गीत चर्चित छन् । विपिन संगीतकार र एरेन्जरको रुपमा लोकप्रिय छन् । यिनीहरुको जोडी पनि संगीतकर्मले नै जुराएको हो । यतिबेला सुखद दाम्पत्य जीवनसँगै सांगीतिक सहकार्यमा यो जोडी सक्रिय रहेको छ ।

ganesh yasodha

गणेश पराजुली– यशोदा पराजुली

गणेश पराजुली– यशोदा पराजुली
दिन ढल्यो अँधेरी रातमा जस्तो लाखौं दर्शकले मन पराएको यस गीतकी गायिका यशोदा पराजुली र संगीतकार गणेश पराजुली पनि संगीत क्षेत्रमा सहकार्य गर्दै, गृहस्थी टिकाउन सकेको आदर्श जोडी हो । यस्ता दर्जनौं चर्चित गीत यी जोडीले नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् । गायन यात्राबाट दाम्पत्य जीवनमा जोडिएका यी जोडीले विगत अढाई दशकदेखि गायन यात्रालाई निरन्तता दिँदै आएका छन् । यी दम्पतीको उता तिमी आधा, यता छु म आधा, माया फूल हो माया पात हो जस्ता धेरै युगल गीतहरू छन् । प्रेम गीत गाउँदा पनि यशोदाका गीतमा गणेशप्रतिको माया र गणेशका गीतमा यशोदाप्रतिको माया देखिन्छ । यी दम्पतीका गीत श्रोताका लागि प्रेमीले प्रेमिकालाई तथा प्रेमिकाले प्रेमीलाई भनेजस्तो लाग्छ । गणेशले गायकको सुन माया जाँदै छु म टाढा, तिमीलाई अपनाउ भनेर, यशोदाको दिन ढल्यो अँधेरी रातमा, तिमी छौ पारि आफू छु वारि, के माग्छौ भनी कसैले सोधेभनेजस्ता गीतहरू एकले अर्कालाई गाइएको यी दम्पतीको भनाइ छ ।

त्यसो त गायिका निशा सुनार र निर्देशक शंकर बिसी, गायक विमल डाँगी र गायिका सरिता डाँगी, गायिका टीका प्रसाई र गायक लेखराज गुरुङ, संगीतकार महेश खड्का र निर्देशक मिनाक्षी कोइराला, लक्ष्मी मल्ल र श्रीकृष्ण बममल्ल, सुबास केसी र प्रिति आले, राधिका हमाल र कृष्ण पुन, विन्दु परियार र सुदीप सागर, गीता रेउले र जेबी डीसी लगायतले संगीतलाई कर्मथलो बनाइरहेका छन् भने गायिका विष्णु माझी र सुन्दरमणी अधिकारीको जोडी पनि मिडियामा नखुले पनि सांगीतिक यात्राकै क्रममा बनेको जोडीका रुपमा देखिन्छ ।
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु