सर्वनाममा ४ दिनसम्म ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’

म्यूजिक खबर
प्रकाशित: २० चैत्र २०७४, मंगलवार

चैत २० काठमाडौं । रङ्गकर्मको ३६ वर्ष पार गरेको उपलक्ष्यमा सर्वनाम थिएटरले ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’को आयोजना गरेको छ। महोत्सव सोमबारदेखि सर्वनाम थिएटर काठमाडौंमा सुरु भएको छ।

सर्वनाम थिएटरका निर्देशक तथा रङ्गकर्मी अशेष मल्लले नाटकको क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सकिने भन्दै सर्वनाम थिएटर सुरु गर्दा यहाँसम्म आउला भनेर नसोचेको बताए। कार्यक्रममा यस नाटक घरलाई निरन्तरता अबको पुस्ताले पनि दिनेछ भन्ने विश्वास उनले व्यक्त गरे।

´शान्तिलाई शान्तिको जस्तै रङ मनपर्छ` भन्ने संवाद सबै देशका नाट्यकर्मीलाई एकैचोटि वाचन गर्न लगाएर कार्यक्रमको उद्‌घाटन गरिएको थियो। चार दिनसम्म चल्ने उक्त महोत्सवमा भारत, चीन, इंग्ल्याण्ड, हङकङ र बंगलादेशका नाट्यकर्मीका नाटकहरू देखाइने नाट्यकर्मी राज शाहले बताए।

नाटकको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको परिचय पुर्‍याउन लागिपरेको बताउँदै उनले भने, ´अन्य देशमा कस्ता नाटक चल्दै छन् र हाम्रामा कस्ता नाटक चलाउँदै छौँ भन्ने कुराको ज्ञानको विनिमय गर्न  महोत्सवको आयोजना गरिएको हो।

उद्‌घाटन कार्यक्रममा क्रमश: अतिरिक्त आकाश, जम्प, द कोर्ट मन्चन गरिएको थियो। अतिरिक्त आकाश नाटक ३५ वर्षअघि नाट्यकर्मी अशेष मल्लले लेखेर सर्वनाम थिएटरमा पहिलो पटक मन्चन गरेका थिए। अभिनित मल्ल्ले अभिनय गरेको उक्त नाटकले दर्शकको साथ पाएको थियो।

चार दिनमा १३ वटा एकल नाटक मन्चन गर्ने लक्ष्य राखिएको शाहले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु