साहित्यकार श्रीजन श्री सम्मानित

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७०, मंगलवार

क्वालालम्पुर । मलेसियामा हरेक महिनाको अन्तिम आइतबारका दिन हुने साहित्य सण्डे कार्यक्रम गत आइतबार पनि सम्पन्न भएको छ । यसपालीको साहित्य सण्डेको अन्तर्गत अग्रज साहित्यकार श्रीजन श्री सम्मानित भएका छन् । अनाम मण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाले यो पटकको कार्यक्रममा श्रीजन श्रीलाई सम्मानित गरेको हो । साथै सो अवसरमा साहित्यकार श्रीजन श्रीको एकल गजल वाचन कार्यक्रम पनि सम्पन्न भएको छ ।
मलेसियाको जोहोर, पेनाङ्ग, मलक्का, मुआर, सेरेम्बान लगायतका स्थानबाट आएका साहित्यकारहरुको जमघटका बीच गजल वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा उपस्थित सबैले साहित्यकार श्रीजन श्रीलाई शुभकामना दिएका थिए । अनलाइनबाट अतिथि बनेका साहित्यकार नेपालबाट सुरेश सुवेदी र अमेरिकााट टंक चन्दले पनि स्काइपबाट शुभकामना दिए । सोम सुवेदीद्वारा संचालित सो कार्यक्रममा अनाम मण्डली मलेसिया र विश्व साहित्य महासंघ मलेसियाले श्रीजन श्रीलाई खादा ओढाई सम्मान गरेको थियो । गजल वाचन अन्तर्गत श्रीजन श्रीले एकलरुपमा करिब दुई दर्जन गजलहरु सो अवसरमा प्रस्तुत गरेका थिए । डोटेली भाषाबाट गजल वाचन गरेका साहित्यकार श्रीजन श्रीले गजल गाउँदा उपस्थित सबैले उनलाई साथ दिएका थिए ।
करिब तीन घन्टा चलेको सो कार्यक्रमको सभापतित्व साहित्यकार जीवन देवान गाउँले गरेका थिए । साथै मनिराई गोठाले, दीप दर्शन, जितमान राई, राज अविरल यात्री, मनोज विराली, राज आङ्गदेम्बे, रामचन्द्र गिरी, विरु पाठक, रामचन्द्र नेपाल, सुन्दर आले, प्रकाश विसी, प्रेम श्रेष्ठ, रोहन समीप लगायतले साहित्यकार श्रीजन श्रीको साहित्यिक क्षेत्रको योगदानको बारेमा प्रष्ट पारेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु