साहित्यिक गतिविधिमा रुची र सहभागिता घट्दो

म्यूजिक खबर
प्रकाशित: ७ कार्तिक २०७१, शुक्रबार

राधिका अधिकारी/म्याग्दी

कला र भाषाको संरक्षण एवं प्रतिभाको प्रर्वद्धनमा टेवा मिल्ने भए पनि म्याग्दीमा पछिल्लो समयमा साहित्यीक गतिबिधिमा सहभागिता र रुची घट्दै गएको छ । पाँच÷छ वर्षअघिसम्म साप्ताहिक रुपमा साहित्यिक कार्यक्रम गर्ने सम्बद्ध संस्थाहरु निश्क्रिय बनेका छन भने म्याग्दीबाट प्रकाशन हुने साहित्यिक पत्रिकाहरु समेत बन्द भएका छन् ।
बेरोजगारी समस्याका कारण स्रस्टाहरुको पलायन, समाज एवं राज्यका निकायले साहित्यको प्रर्वद्धनमा उपेक्षा गर्नु, आर्थिक अभाव, प्रबिधि र सञ्चार माध्यमको विकासका कारण साहित्यमा सहभागिता र रुची घटेको पौलत्स्य साहित्य समाज बेनीका उपाध्यक्ष निराजन शिरीषले बताए ।
कबिता, गीत, गजल, भावना, हाईकु, लद्युकथा, मुक्तक लगायत सृजना समावेश गरेर म्याग्दीबाट प्रकाशन हुदै आएका नवप्रतिभा, हवाईपत्रिका, रत्न, साहित्यको प्रवाह, साहित्यमाला, मुना प्रतिभा, परिमल लगायत साहित्यिक पत्रिकाहरु बन्द भएका छन् ।
आर्थिक अभावको समस्या झेलीरहेका म्याग्दी साहित्य समाज, पौलत्स्य साहित्य समाज, बेनी वाङमय परिवार, प्रगतिशिल लेखक संघ, मधुसुधन साहित्य स्मृति प्रतिष्ठान लगायत साहित्यिक संस्थाहरुले छिटपुट रुपमा आयोजना गर्ने कबिता बाचन, साहित्यीक गोष्ठि, साहित्यकारहरुको जन्मजयन्ती, विमोचन कार्यक्रममा नयाँ पुस्ताका सर्जकको सहभागिता हुन छाडेको छ ।
सञ्चारको विकासले सामाजिक सञ्जाल, वेभ साईट र एफ एम रेडियोका कार्यक्रम मार्फत साहित्यकारहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न सहयोग मिलेपनि सृजनशिलता भने ओझेलमा पर्नुका साथै वौद्धिक चोरीको समस्या बढेको म्याग्दी साहित्य समाजका सचिव रामप्रसाद सुवेदीले बताए ।
साहित्यिक गतिविधिहरु उपेक्षित हुँदा भाषा, कला, संस्कृतीको संरक्षण र प्रतिभावान सर्जकलाई भने निराश बनाएको पौलत्स्य साहित्य समाजका अध्यक्ष दिपक कार्की बिखर्चीले बताए । जसका कारण नेपाली भाषा र कलाको प्रर्वद्धनमा दिगो असर पर्ने अध्यक्ष कार्कीको चिन्ता छ ।
पौलत्स्य साहित्य समाज बेनी र सामुदायिक पुस्तकाय बेनीको संयुक्त आयोजनामा देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको श्रष्ठा सम्मान तथा अञ्चल स्तरिय काव्य गोष्ठिमा उपस्थित भएका अधिंकांशले साहित्य क्षेत्रमा आएको उदासिनता प्रति चिन्ता व्यक्त गरेका थिए । सो कार्यक्रममा साहित्यकार तथा कलाकार गणेश कुमार जिसि र राम प्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।

myagdi anchor

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु