सिन्धुलीमा आदिवासी चलचित्र महोत्सव

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७०, बिहीबार

काठमाडौं । ‘हाम्रो ज्ञान हाम्रो पहिचान, सम्वृद्धिका लागि हाम्रो जागरण अभियान’ भन्ने नाराका साथ सिन्धुलीमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र विस्तार महोत्सव–०७० हुने भएको छ ।
तामाङ भाषाको सामाजिक संस्था प्राङबोला छार न्हान, सिन्धुलीको आयोजना तथा आदिवासी चलचित्र अभिलेख संस्था काठमाडौंको सह–आयोजनामा चैत्र २१, २२ र २३ गते महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवमा नेपालगायत भारत, ताईवान र न्युजरल्यान्डसहित ४ देशका आदिवासी जनजातीसँग सम्बन्धित २ दर्जन वढी वृत्तचित्र तथा छोटो चलचित्र प्रदर्शन गरिने प्राङबोला छार न्हानका अध्यक्ष एवं नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव काजीमान थिङले जानकारी दिए । महोत्सवमा नेपालबाट तामाङ, मगर, नेवार, सनुवार, गुरुङ, थारू, भुजेल, चेपाङलगातका आदिवासी जनजातिसँग सम्बन्धित वृत्तचित्र तथा छोटो चलचित्र प्रदर्शन गरिने छ । साथै, जलवायु परिवर्तन, मातृभाषामा शिक्षा, विकास र विनाशसम्बन्धित २ सय २० केभी विद्युत् प्रसारण लाइनविरुद्ध सिन्धुलीका स्थानीय आदिवासी जनजातिले गरेको आन्दोलनको वृत्तचित्रसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवले आदिवासी जनजाति समुदायको परम्परागत मौलिक ज्ञान, कला र सीपको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्नुका साथै जातीय सांस्कृतिक सम्वृद्धि र सद्भावको विकासमा सकारात्मक मद्दत पुग्ने विश्वास लिइएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु