सुमधुर संगीतमा राजशुक्र

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७०, बिहीबार

काठमाडौं । पूर्वेली लोकदोहोरी गायनमा पहिचान बनाएका गायक राजशुक्र लिम्बूको अर्को पनि परिचय थपिएको छ । उनी अब गायकमा मात्र रहेनन्, संगीतकारका रूपमा दर्शक तथा श्रोतामाझ आएका छन् । राजशुक्रले आफ्नो सोलो संगीतमा आधाुनिक गीति एल्बम ‘सुमधुर’ ल्याएका छन् । एल्बम ल्याएपछि गायक तथा संगीतकार राजशुक्रले भने, ‘गायक र संगीत एउटै पाटो हुन्, त्यसैले गायकसँगै संगीत सिर्जना पनि गरौं भन्ने आफ्नो सोलो संगीतमा एल्बम ल्याएको हुँ ।’ उनले आगामी दिनमा गायनसँगै संगीत सिर्जनालाई पनि निरन्तरता दिने बताए
राजशुक्रले आफ्नो स्वरमा ‘हुई हुर्रा हा हा’, ‘धानै नाचौँ सोल्टिनी’ जस्ता पूर्वेली लोक गीति एल्बम श्रोतासामु पस्किसकेका छन् । करिब एक दशकयता सांगीतिक क्षेत्रमा क्रियाशील राजशुक्रले भने, ‘हिजोका दिनमा गायक मात्र थिएँ । तर, अब संगीतकारका रूपमा पनि आफूलाई अगाडि बढाउने छु ।’
संगीतकार राजशुक्रको ‘सुमधुर’ मा विभिन्न ख्यातीप्राप्त गायक÷गायिकाले स्वर दिएका छन् । एल्बममा परदेशीको मन, तिमी कहाँ मत यहाँ, भूल भूल भुल्नै सकिनँ, बोलाउन मन लाग्छ, तिमीले साथ छाडेपछि, तिम्रो त्यो आँखाको, आई लभ यु, शंका नगर, झुटो माया लाएपछि, जसले बढी चोट दिन्छ, विचार मिले मन मिल्दा र मेरै भन्छु खै जस्ता १० वटा गीत समावेश छन् । ती गीतमा अञ्जु पन्त, स्वरूपराज आचार्य, दीपक लिम्बू, कृष्णभक्त राई, प्रमोद खरेल, परिदास लिम्बू, कन्चन थलङ, माइकल लिम्बू, उक्तजंग लिम्बू, दीपा मगर, श्रेयसी चेम्जोङ र रविन बर्तौलाको स्वर सुन्न सकिन्छ ।
भिक्टोरिया म्युजिकले बजारमा ल्याएका एल्बममा शब्दरचना बचन लिम्बू, इशा लावती, रिञ्जीसागर राई, इन्द्रजित लावती, मिलन लिम्बू, प्रकाश सोताङ, उत्तमजंग लिम्बू, किरण राई र भिसम्भराज लिम्बूको छ ।
राजशक्रले संगीत गर्न थालेको खासै धेरै भएको छैन तर उनले ४ दर्जनभन्दा बढी आधुनिक गीतमा संगीत दिइसकेका छन् । ‘संगीत गर्न थालेपछि म झनै व्यस्त हुन थालेँ,’ उनले भने, ‘दिनदिनै व्यस्तता बढ्दै गएको छ ।’ ८ वर्षयता भिक्टोरिया अडियो–भिडियो कम्पनी सञ्चालन गर्दै राजशुक्रले भने, ‘सुमधुर’ का गीत श्रोताले रुचाएका छन् जसले गर्दा मलाई संगीत सिर्जनामा हौसला मिलेको छ ।’

raj sukra

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु