सोझोपनको फाइदा लिएर मलाई मुर्गा बनाइयो : सुमी

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । गायिका सुमी चाम्लिङ राईले नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेपछि एउटा अध्याय पार गरेकी छन् । नयाँ हुँदा आफू ठगिएको भन्दै अबका दिनमा कसैले ठग्न नसक्ने बताउँदै उनले एउटा खुड्किलो पार गरेका बताएकी छन् । उनी भन्छिन्, ‘अहिलेसम्म जथि ठगिएँ, सक्यो अब कसैले मलाई ठग्न सक्ने छैनन् किनकि अहिले बुझ्ने भइसकेकी छु ।’
हुन पनि अहिलेसम्म उनी संगीतकै लागि भनेर जति समय खर्चिन् । त्योभन्दा धेरै पैसा खर्चेकी छन् । तर, पैसा र समय खर्चिएर पनि उनले सोचेजस्तो हुन सकेन । यसको कारण उनी आफ्नो सोझोपना भएको बताउँछिन् । उनी प्रतिभा भएर पनि कुसंगतको फेला परिन् अर्थात् उनको सोझोपनको फाइदा लिँदै ‘मुर्गा’ बनाए । अहिले उनी सम्झिन्छिन्, ‘त्यो समयमा म साह्रै सोझी थिएँ । कसैसँग बोल्न सक्दिनथिएँ । ठगिनुको कारण बल्ल बुझ्दैछु ।’
करिब ६ वर्षअघि रहरले सांगीतिक क्षेत्रमा पाइला राख्दा सुमीले सोचेकी थिइन्, ‘एल्बम निकालेपछि रातारात चर्चामा आइन्छ ।’ नभन्दै सुमधुर स्वरकी धनी सुमीको पहिलो एल्बम ‘दिक्तेल बजार’ हिट भयो । एल्बमको ‘दिक्तेल बजार’ गीत श्रोताले यति रुचाए कि श्रोता÷दर्शकले गाउाघरमा मेलापात र घाँस दाउरा गर्न जाँदासमेत गुनगुनाउन थाले । आफ्नो गीत हिट भएपछि सुरुमा उनी मख्ख परिन् । तर, त्यो खुसी लामो समय टिकेन । कारण श्रोताले उनलाई चिनेनन् । ‘दिक्तेल बजार’ गीत देश–विदेशका श्रोताको ओठमै झुन्डिएको छ । तर, यस गीतकी गायिका सुमी भनेर थोरैले मात्र चिन्ने गर्छन् । किन त ? सुमी भन्छिन्, ‘मुख्य कारण मेरै कमजोरी हो । मैले आफूलाई प्रमोसन गर्न नसक्दा ओझेलमा परेँ ।’ ‘दिक्तेल बजार’ उदारणमात्र भएको बताउँदै सुमीले भनिन्, ‘बोल्न नसक्दा त्यो समयमा धेरै ठगिएकी छु ।’

sumi-1

सांगीतिक क्षेत्रको प्रारम्भिक करिअरमै सुमीले निकै हन्डर खानु प¥यो । जबकि आफ्नो गीत हिट भइकन पनि ओझेलमा पर्नु उनका लागि पीडा थियो भने अर्कोतर्फ क्यासेट कम्पनी समेत ठग निस्कियो । उनी आफूलाई ठग्ने कम्पनीको नाम त खुलाउन चाहँदिनन् तर, उक्त कम्पनीले आफ्नो सोझोपनको भरपूर्ण फाइदा उठाएका सुमी बताउँछिन् । उनी भन्छिन्, ‘अहिले भन्दा कसैले विश्वास ने गर्दैनन् । तर, मैले एउटै एल्बमका लागि ८ लाख रुपैयाँभन्दा बढी खर्च गरेकी छु । त्यो समयमा ८ लाख रुपैयाँ रुपैयाँ भनेको कम होइन । कतिले त मलाई त्यति पैसाले फिल्म नै बन्छ भन्थे । तर म बोल्न सक्दिनँ थिएँ ।’
पैसा र समयको मात्र बर्वाद भएको देखपछि परिवारले सुमीलाई सांगीतिक क्षेत्र नै छाड्न दवाव दिन थाले । सुमी भन्छिन्, ‘सुरुमा संगीत क्षेत्रका लागि मलाई परिवारको सर्पोट नै थिएन । जतिखेर मेरो आमाबुबा मलाई राम्रो पढ्नु । पढेपछि राम्रो केटा पाइन्छ भन्नुहुन्थ्यो । तैमाथि लगानी मात्र गरेको देखेपछि त धम्की नै दिन थाल्नुभयो । तर, मैले हरेस खाइनँ किनकि, गीतसंगीत मेरो सानैदेखिको रहर र इच्छा थियो । जसरी पनि आफ्नो इच्छा पूरा गर्छु भनेर लागिरहेँ । त्यो समयमा आमाबुबाको कुरा सुनेको भए अहिले म संगीत क्षेत्रमै हुँदिनथिएँ होला ।’ तर, अहिले सुमीलाई पहिलेजस्तो छैन । उनलाई बेलायतका बस्दै आएका आमाबुबाले पनि साथ दिएका छन् । दोस्रो एल्बम ‘जबसम्म…’ निकालेपछि परिवारको पनि सर्पोट पाउन थालेको उनी बताउँछिन् ।
हो, ‘जबसम्म…’ सुमीका लागि सांगीतिक क्षेत्रको दोस्रो अध्याय भन्दा फरक पर्दैन । यसै एल्बमको शीर्ष गीतबाट गत वर्ष उनले इमेज अवार्डमा ‘सर्वोकृष्ट नवगायिका’तर्फ अवार्ड उचालिन् । त्यसपछि सुमीलाई देशविदेशबाट समेत कार्यक्रमका लागि प्रस्ताव आउन थाल्यो । उनी भन्छिन्, ‘अवार्ड पाएपछि आमाबुबा पनि खुसी हुनभयो । अहिले उहाँहरुको सर्पोट पाइरहेको छु । कुनै समय पढेर राम्रो केटा पाइन्छ भन्नुहुन्थ्यो । तर, अहिले नाम कमाउनु भन्नुहुन्छ ।’
उनी चाँडै नै युरोप र अमेरिकामा सांगीतिक कार्यक्रमका लागि जाँदैछिन् । त्यहाँबाट फर्केपछि अर्को एल्बम ल्याउने सुमीले बतायन् । उनले भनिन्, ‘अगस्टको अन्तिम सातातिर लण्डन र अमेरिकामा कार्यक्रमका लागि जाँदैछु । अहिले त्यसैको तयारी गदैछु ।’ गत बैशाख १२ को महाभूकम्पले गर्दा पनि आफ्नो योजनाहरु तलमाथि परेको उनले सुनाइन् । उनी भूकम्पपीडित पनि हुन् । काठमाडौंको हातीगौडामा करिब एक करोड खर्चेर बनाएको आफ्नो घर बस्नै नुहने भएको सुमीले सुनाइन् । ‘नयाँ घरमा सर्नै नसरी चर्केर बस्नै नहुने भयो’ उनले भनिन्, ‘सुरुमा पागलजस्तै भएँ । जे–होस बाँच्नै ठूलो कुरा सम्झेर चित्र बुझाएकी छु । बाँचेपछि कमाउन सक्छु भन्ने लाग्छ । र, सक्छु पनि । अहिले यस्ते सम्झेर गायनलाई निरन्तरता दिँदै छु । विदेश गए पनि गीतसंगीतका लागि नेपालमै बस्छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु