हरुवाचरुवाको मुक्ति खोज्दै निरौला

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७२, बिहीबार

चलचित्र, अभिनय, लेखन एवं नाट्यकर्ममा आफूलाई समाहित गराउँदै आएका निर्देशक मोहन निरौला यतिबेला हरुवाचरुवाको मुक्तिको खोजीमा लागिरहेका छन् । तराईका विभिन्न जिल्लामा एक लाखभन्दा माथिको संख्यामा रहेका हरुवाचरुवाहरु अझै पनि पुस्तौं पुस्तादेखिको ऋण तिर्नका लागि साहु महाजनकोमा दासी बनिरहेका छन् । आफ्नो भन्ने एक चिम्टी माटोसमेत नभएका हरुवाचरुवाहरुको मुक्तिका खातिर यतिबेला मोहन निरौलाको समूह गाउँ गाउँ बस्ती बस्ती हिंडिरहेको छ ।

तराईका विभिन्न जिल्लामा आफ्नो न्याय र अधिकारका लागि लडिरहेका हरूवा चरुवाहरूको कथा मुक्तिको खोजीलाई मोफसलपछि पहिलोपटक मंगलबार सर्वनाम थिएटरको रंगमञ्चमा प्रदर्शन गरिएको छ । सदिऔंदेखि मुक्तिका लागि लड्दै आएका हरूवा चरुवाहरूको कथा मुक्तिको खोजीलाई मोहन निरौलाले लेखेका हुन् भने उनकै निर्देशनमा परिवर्तन नेपालका कलाकारहरुले नाटक मञ्चनसमेत गरे ।

haruwa charuwa
तराईका सप्तरी, धनुषा, सिराहा, सर्लाहीलगायतका जिल्लामा बस्दै आएका झन्डै १ लाखको हाराहारीमा रहेका हरूवाचरुवाहरू बाबु बाजेले लिएको ऋण तिर्नका लागि साहुको घरमा बसेको बेला आइपरेका दुःखकष्ठ एवं उनका छोरीहरुमाथि गरिएको यौन शोषणको कथा नाटकमार्फत् देखाइएको थियो । पश्चिमी तराईमा भने कम्लरी, हलियाप्रथा जस्ता कुप्रथा उन्मूलन भइकेको अवस्थामा पनि पूर्वी तराईमा भने हरूवा चरुवा जस्ता प्रथा उन्मूलन नभएको हुँदा नाटकमार्फत् सामन्तविरुद्ध लड्नुपर्ने र हरुवाचरुवाको मुक्ति दिलाउनुपर्ने चेतना निरौलाले देखाएका छन् ।

suraj-haruwacharuwa
मुक्तिको खोजी नाटकमा परिर्वतन नेपालकै कलाकारहरू सुरज अधिकारी, पार्थ सरकार, राजेन्द्र रावल, सलिना बानिया, आदर्श घिमिरे, सविन कटुवाल, सुनीता राना, राजेश बानियाँलगायतले अभिनय गरेका छन् । नाटकले सबै हेपिएका समुदायले आफ्नो अधिकार प्रप्तिका लागि आवाज उठाउनुपर्ने, छोरीचेलीमाथि गरिएको दुव्र्यवहारलाई कानूनी दायरामा ल्याउनुपर्ने, साहुको ऋण तिर्ने बहनामा शोषित पीडित बनेका हरुवाचरुवाहरुको मुक्ति दिलाउन सरकारले पहल गर्नुपर्ने कुराहरुलाई केन्द्रविन्दुमा राखेको छ । यसअघि मोफसलका सप्तरी, सिराहा र धनुषाको १०⁄१० ठाउँमा मञ्चन गरिसकिएको नाटक काठमाडौंमा मञ्चन गरिएको हो ।

natak - miuktiko khoji
नाटक हेर्नका लागि निरौलाले विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाएको भए पनि सप्तरीका सभासद् रञ्जित कर्णमात्र आइपुेका थिए । कर्णले शिक्षा र चेतनाको अभावको कारण नै हरूवा चरुवाहरू हेपिएका र आगामी दिनमा शिक्षालाई मूल आधार मानेर नै हरूवा चरुवा उन्मूलन गर्नु पर्ने बताएका थिए । हरूवा चरुवाहरूको समेत उपस्थिति रहेको नाटक मञ्चन कार्यक्रममा मुक्ति अभियानका कार्यकर्ताले मधेसी नेताहरूले मुक्तिको मुद्दा नउठाएको गुनासो गरेका थिए भने निर्देशक निरौलाले हरुवाचरुवाहरु अझै पनि शोषित पीडित भएका कारण सरकारलाई झकझक्याउन नाटकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका थिए ।

natak muktiko khoji

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु