हर्मीबासीलाई कलाकारको सहयोग

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७२, बिहीबार

काठमाडौं । बैशाख १२ गतेपछिको निरन्तर गएको भुकम्पबाट प्रताडित बनेका गोर्खा जिल्लाको हर्मी गाविसको वडा नं. ९ का दलित बस्तीलाई कलाकारहरुले सहयोग गरेका छन् । अमेरिकामा रहेर गीतसंगीतमा क्रियाशील रहेका कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघ, गायिका सिर्जना विरही थापा, गायक राजन ठकुरी र गायक राजन भुजेलले सहयोग प्रदान गरेका हुन् । गोर्खाको हर्मी गाविसमा रहेका दलित बस्तीलाई केन्द्रित बनाउँदै संघले अमेरिकाबाट स्वरुप ५० हजार राहत प्रदान गरेको थियो भने सिर्जना विरही थापाले रु २० हजार सहयोग प्रदान गरेकी थिइन् । उक्त राहत रकमबाट हर्मी गाविसको वडा नं. ९ मा रहेका दलित बस्तीमा गत सोमबार खाद्यन्न वितरण गरिएको थियो । वर्षायाम सुरु हुन लाग्दा दलित बस्तीमा खानेकुराको अभाव हुँदै जाने अवस्था भएका कारण घरविहीन बनेका हर्मीबासीलाई चामल बितरण गरिएको थियो । ६० घरधुरीलाई खाद्यन्न बितरण गरिएको थियो ।
पत्रकार सुमन बैरागीको नेतृत्वमा गएको राहत टोलीलाई स्थानीयबासीहरुले खुशी प्रकट गर्दै फूलमाला लगाइदिएका थिए । गायकद्वय राजन भुजेल र राजन ठकुरी, मोडल नारायण ढकालको टोलीले गाउँमा राहत प्रदान गर्दा स्थानीयबासीले कच्ची सडकको विकास गाउँमा भए पनि राहतको कार्यक्रम कम हुने गरेको बताएका थिए । खाद्यन्न बितरण गरिएपछि स्थानीयहरुले सहयोगको हात फैलाउने नेपाली अमेरिकन कलाकार संघलाई धेरै धन्यवाद दिएको थियो भने राहत लिएर जाने कलाकारको टोलीलाई धन्यवाद दिँदै सम्मान समेत गरेको थियो । उनीहरुले यो पीडामा लगाएको गुण कहिल्यै नबिर्सने बताएका थिए । त्यस्तै केही समय पहिला मात्र उक्त रकमबाट गाविसका दलित, एकल महिला र विपन्न समुदायलाई लत्ताकपडा र घर निर्माणको कार्यमा सहयोग गरिएको थियो ।
अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संगठनका रुपमा रहेको अमेरिकन नेपाली कलाकार संघले गोर्खा लगायत भुकम्पबाट पीडित बनेका सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा पनि राहत पठाएको छ । विदेशमा रहेर नेपालीहरुकै सेवामा मन लगाउँदै आएको यस संस्थाले स्थापनाको छोटो समयमै कलाकार एवं पीडितहरुलाई ठूलो सहयोग उपलब्ध गराउँदै आएको छ ।

IMG_5875 IMG_5868 IMG_5848 IMG_5840 IMG_5835 IMG_5830 IMG_5825 IMG_5821 IMG_5890

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु