हिन्दी चलचित्र निर्देशन गर्दै बस्नेत

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

काठमाडौंं, १ माघ । निर्देशक शोभित बस्नेतले अब हिन्दी चलचित्र निर्देशन गर्ने भएका छन् । करिब दुई दर्जन नेपाली चलचित्र निर्देशन गरिसकेका शोभितले ‘मै वो नही’ नामक हिन्दी चलचित्र निर्देशन गर्न लागेका हुन् । उक्त चलचित्रको बुधबार राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको छ ।
चलचित्रमा तीन जना भारतीय र तीन जना नेपाली अभिनेता÷अभिनेत्री रहने निर्देशक बस्नेतले बताए । चलचित्रको छायांकन भारतको देहरादुनबाट माघ दोस्रो सातादेखि सुरु गरिने भएको छ । त्यसपछि चलचित्रको छायांकन काठमाडौं, मोरिसस, दुबई र लन्डनमा गरिने जनाइएको छ । साथै, छायांकनअघि चलचित्रको मुम्बईमा शुभमुहूर्त गरिने निर्देशक बस्नेतले बताए ।
दक्षिण भारती एक सिनेमाको रिमेकका रूपमा ‘मै वो नहीँ’ निर्माण गर्न लागिएको हो । चलचित्र एक्सनप्रधान हुने बताइएको छ । यस चलचित्रको निर्माण लियाकत अली, दिनेश दर्शनधारी र विजय सत्यासले गर्न लागेका हुन् । कार्यक्रममा यस चलचित्रलाई नेपाल र भारतमा एकैसाथ रिलिज गर्ने लक्ष्य रहेको प्रस्तुतकर्ता लियाकत अलीले बताए ।
निर्देशक बस्नेतले हिन्दी चलचित्र निर्देशन गर्न लागेकामा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र निर्देशक राजेन्द्र खड्गी सुनील मानन्धरलगायतले शुभकामना दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु