८१ वर्षका युवा जोश

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७४, शुक्रबार

सुमन पण्डित/म्यूजिकखबर


जगत मर्दन थापा यतिबेला उमेरले ८१ वर्षका भए तर सांगीतिक क्षेत्रमा भने युवाअवस्था आएको छ उनलाई । २०१८ सालबाट औपचारिक रेकर्डिङ गर्दै गायनलाई सुरुवात गरेका उनले सानै उमेरदेखि गायनमा रुचि राख्थे । २०११ सालदेखि कविता लेख्न थालेका थापा गीतकार, गायक, संगीतकार, कथाकार र लेखक जस्ता बहुमुखी प्रतिभाका धनी हुन् । जीवनको उत्तराद्र्धमा संगीतले युवाअवस्था बनाउँदै गरेको उनको जीवन यतिबेला झनै उर्जाशील बन्दै गएको छ । त्यही उर्जाशील जीवन बनाउनका लागि थापासँग गरिएका केही कुराकानीः


नयाँपनका लागि आउट नलेज
हामी सामान्य संगीत सिक्दैमा सफल भइँदैन । बाहिरी अध्ययनसहित नयाँ प्रयोग गरियो भने सफल भइन्छ । नयाँ नयाँ टेक्नोलोजी आइरहेको छ त्यसलाई मौलिकतासँगै प्रयोगमा ल्याइनु पर्छ । हामी कोर्ष मात्रै पढेर हुँदैन त्योभन्दा बाहिरको संगीतलाई पनि आत्मसात गर्नुपर्छ । संगीत भनेको तस्पया हो, सरस्वती माताको वरदान हो । संगीतमा दत्तचित्त भएर विहान २ देखि ३ घन्टा नियमित अभ्यास गर्नुपर्ने हुन्छ । आफ्नो गलालाई सुरमा ल्याउनका लागि रियाज नियमित हुनु जरुरी छ । धेरै रियास गर्दैमा गला राम्रो हुने होइन, संगीतको ज्ञान सम्झन सक्ने गरी रियाज गर्नुपर्ने हुन्छ । रियाज सकेसम्म तारबाजा अर्थात् तान्पुरामा गर्दा राम्रो हुन्छ ।

शास्त्रीय अध्ययन
संगीतमा लाग्ने व्यक्तिले शास्त्रीय संगीत सिक्नु जरुरी हुन्छ । शास्त्रभित्र रहेर गरिएको अध्ययन नै शास्त्रीय हो । शास्त्र नसिकिकन भाषा मात्र पढेर हुँदैन । व्याकरण मिलाएर भाषा पढ्नका लागि शास्त्रीय संगीत आवश्यकता पर्छ । शास्त्रीय ज्ञान लिनेले कहाँनेर कोमल, तीब्र, राग, सुरतालको कुरा ख्याल गर्न सक्छ । गाउनु मात्रै ठूलो होइन शास्त्रीय ज्ञानसहित गाउँदा अन्तर्राष्ट्रियस्तरमा हाम्रो संगीतले प्रतिस्पर्धा गर्न सक्ने बन्छ । शास्त्रले मार्गदर्शन गराउँछ, मानिसलाई विद्धान बनाउँछ । सोखले गाउनु र नियममा रहेर गाउनु फरक हो । त्यसैले शास्त्रीय संगीतको ज्ञान अनिवार्य छ ।
संगीत पहिला र अहिलेमा केही फरक छैन । जसले गाए पनि यही सुर ताल, राग अनुसार नै जाने । हामीले संगीतको व्याकरणसहित गाउन सक्नुपर्छ । अहिले सुगम संगीत सिक्नेहरु शास्त्रीय ज्ञान लिन चाहँदैनन् । चर्चा पाउनु मात्र ठूलो होइन, कुनै ठाउँमा आफ्नो प्रस्तुतिलाई अरुले मूल्यांकन गरिरहेको हुन्छ त्यहाँनेर पनि आफ्नो क्षमता देखिन्छ । कोइलीको स्वर मिठो हुन्छ तर कागको स्वर सुनेपछि सबैले खेदाउँछन् । कोइलीले त को हो, को हो मात्र भन्छ अरु जान्दैन तर सुगाको स्वर पनि मिठो छ, सुगालाई सिकाउँदै गरिन्छ र जे भन्न लगायो त्यही भन्छ । अब कोइली होइन सुगा बन्नुपर्छ । पहिला लोकगीत, सेलो गीत बढी चल्थ्यो, पछि पछि आधुनिक, पप, ¥याप हुँदै आयो । जति पछि हुँदै गयो उति चुनौतिका साथ संगीतको ज्ञानको प्रयोग भयो । चोरेर राम्रो बनाउँछु भन्नु हुँदैन चोरेको जसरी पनि पत्ता लाग्छ । पुराना गायक गायिकाको युरोपियनस्तरको थियो तर मौलिकता थियो । बम्बैया संगीतलाई नै नजिकबाट हेर्दा पनि धेरै हामीले सिक्नुपर्ने देखिन्छ ।


गीत जीवन्त बन्न
कुनै पनि मान्छे पपुलर बन्न दर्जनौं गीत गाएर हुँदैन । सबै राम्रो हुनसक्छ तर एउटैले परिचय गराउँछ । नारायण गोपालकै धेरै गीतहरु चर्चित छन् तर नाम एक दुईकै आउँछ । अम्बर गुरुङको मलाई मन पर्ने रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो हो । जोशिलो छ, सबैलाई एउटा उर्जावान् बनाउँछ । पोहोर साल खुशी फाट्यो होस् वा पर लैजाउ खुशीहरु हुन् हेर्ने र सुन्ने विचारमा फरक पर्छ । तर माधुर्यता, गहिराई भएको गीत नै सदाबहार बन्छ ।

पेन्सनको पैसा संगीतमा
पेन्सनको पैसा बचाएर अहिले गीत रेकर्ड गराइरहेको छ । यसमा छोराले खर्च सहयोग गरिरहेको छ । मेरो छोरा मोहित मर्दन थापा मेरो अभिभावक बनेको छ । छोराले सधैं संगीतका लागि उर्जा दिइरहेको छ र नै म ८१ वर्षसम्म जवान बनिरहेको छु । त्यस्तै मेरी बुहारी गीत थापा सधैं बुबाको इच्छा अनुसारको काम गरिदिनु भन्छिन् र नै मलाई अगाडि बढ्न आँट मिलेको छ । नातिनिहरु पनि संगीतमा लागिरहेका छन् । जेठी नातिनी गिटार भ्वाइलिन सिक्ने काम गरिरहेकी छिन् भने कान्छि नातिनि गाउन राम्रो गाउँछिन् तर नृत्यमा पनि उत्तिकै रुचि राख्छिन् । आज ८१ वर्षमा मैले गीत गाउन सकेको छु । कुनै पनि गायक गायिका वा संगीतकर्मीलाई प्रोत्साहन, उर्जा मिल्यो भने उमेरले साथ दिउन्जेलसम्म काम गरिरहन सक्छ ।


संगीतमा ६ दशकको यात्रा
म सप्तरीको ब्रम्हजियामा जन्मिएको । बुबा बडाहाकिम हुनुहुन्थ्यो उहाँको सरुवा बढुवासँगै काठमाडौं प्रवेश गरेको हुँ । बुबालाई वीपीले यस्तो मान्छे चाहिन्छ भन्दै महासेनानी बढुवा हुनुभयो । म चौध वर्षको थिएँ । मेरा गुरुहरु सबै हिन्दी गीत गाउनुहुन्थ्यो, गुरुहरुले तिम्रो स्वर राम्रो छ गायनमा लाग भन्नुहुन्थ्यो । हामी बडाहाकिमका छोरा भएर पनि सधैं खाली खुट्टा र जागेंमा हिडिन्थ्यो । खरको छानोमा पढियो । हामी सर्वसाधरण जनताहरुजस्तै भइयो । मलाई ट्युसन पढाउने गुरु यदुवंश लालले कविता राम्रो लेख्नुहुन्थ्यो, हिन्दी गीत पनि गाउनुहुन्थ्यो । हामी पढ्दा पढ्दै उहाँले कविता लेख्नुहुन्थ्यो । सानैमा कसो गरियो थाहा भएन तर २०११ सालमा एसएलसी पास भएपछि महाराजगन्जको विश्ववन्धु पुस्तकालायमा जनरल सेक्रेटरीको काम पाएँ । बेलुका गएर पुस्तकालय खोल्नुपथ्र्यो । त्यतिबेला महिनाको तीन शुक्रबार कविता सम्मेलन र एउटा शुक्रबार गाउने बजाउने सम्मेलन हुन्थ्यो । त्यहाँ राम्रो बजाउने थिए तर मलाई गीत गाउ भनेर भन्दा स्टेज पछाडि बसेर गीत गाउने गर्थे । संगीतको संगतले सुर तालमा गाउनुपर्छ भन्ने सिकायो र पछि रत्नदास माड्साबसँग सिक्न थाले । आइए पढ्न आरआरमा जाँदा शास्त्रीय सिकेका सीपी लोहनी र चन्दा देवीले गीत गाएको देखेँ । कलेजमा हुने वार्षिक कार्यक्रमहरु हुने गर्थे, त्यसबेला रहर लाग्थ्यो । २०१३ सालमा रेडियो नेपालमा क्षेत्रीय कार्यक्रममा गीत गाएँ । त्यसपछि झन् नशा लाग्यो र सिक्नुपर्छ भन्ने लाग्यो । त्यसपछि रेडियो नेपालमा त गाएँ अब स्टेजमा नि गाउनुपर्छ भन्ने आँट त आयो तर दर्शक देखेर आकाश फर्केर गीत गाउँथे । सिधै अगाडि हेरेर गीत गाउन सक्दैन थेँ । एकदिन महानिरीक्षक हेमबहादुर सिंह पहिलेदेखि नै शास्त्रीय सिक्नुभएको रहेछ । मैले उहाँलाई सोधें कस्तो राम्रो स्वर, सुरमा गाउनुहुन्छ यो कसरी भनेर सोधें ? उहाँले सुरमा गाउन त्यसै हुन्छ ल हिंड्नुस् भन्दै साइकलमा लिएर जानु भयो । डिल्लीबजारमा नरराज ढकालसँग भेट गराउनुभयो । म साइकल लिएर संगीत सिक्न जान थालें । एक दिन साइकलमा बत्ती नभएकोले पुलिसले समात्यो भोलिदेखि बत्ती हालेर मात्र आउने भन्यो । साइकलमा बत्ती राख्ने पैसा नभएर नरराज ढकालकोमा संगीत सिक्न जान छाडिदिएँ ।

२०१५ सालमा बिए पास गरेँ, जागिर थिएन, रत्नदास माड्साब, बटुककृष्ण ज्वालाहरुको संगतले हल्काफुल्का गाउने भएँ । त्यसपछि कलानिधिमा एक भर्ना भएँ र एक वर्षजति सिकेँ । त्यसपछि २०२० सालमा जागिर पाएँ त्यसपछि ट्रेनिङका लागि बम्मई गएँ । त्योबेला पाँच महिने क्लासिकल सिकेँ । सस्तो होटलमा बसेर टे«ेनिङ गरिरहेको थिएँ त्यसपछि बम्मइ युनिभर्सिटिमा गएर टीएम वैद्यलाई भेट्न गएँ । त्यहाँ प्रजातन्त्र दिवसका लागि रिहर्सल भइरहेको ठाउँमा गएर भेटें । टीएम वैद्य खुशी हुनुभयो, जगतमर्दन आउनुभएछ अब हाम्रो कार्यक्रम सफल हुने भयो भन्दै सबैले खुशी प्रकट गरेँ । भेट्न गएको मान्छे बसाई टाढा थियो, पैसा कम थियो अब प्रजातन्त्र दिवसको कार्यक्रम सफल बनाउनका लागि मेरो आवश्यकता प¥यो । बाध्य भएर म पनि त्यहाँ सँगै रिहर्सल गर्न सफल भइयो । हामीले प्रजातन्त्र दिवसमा देखाउन गरिएको रिहर्सल देखेर त्यहाँको बोर्डिङले बोलायो र नेपाली कलासंस्कृति देखाइयो । त्यसपछि बम्बई युनिभर्सिटीमा कार्यक्रम देखाइयो । त्यहीबेला मैले गीत रेकर्ड पनि गराएँ । सोही समय उषा मङ्गेशकरसँग माइतीघरको गीत रेकर्ड भएको थियो । एकजना साथीले नेपाली गीत रेकर्ड भएको छ भन्दै लग्यो ।


उषासँगको सपना पूरा
बीसको दशकमै चलेका गायक जगतमर्दन थापाभित्र पलाएको एउटा गहन इच्छाले मूर्त रूप पाउँदैछ । कर्मचारी सञ्चय कोषमा जागिरे भएपछि विसं. २०२२ सालमा ट्रेनिङका लागि मुम्बई गएका थापाले ‘बम्बई’ मा फिल्म ‘माइतीघर’ को गीत रेकर्ड भएको थाहा पाए । एक दिन, एक जना साथीले उकासेपछि उनी ‘माइतीघर’को गीत सुन्न लालायित भए र बम्बईको एम्बेसडर होटलमा गएर गीत सुने पनि । गीत गाएका थिए, नेपाली गायक प्रेमध्वज प्रधान र मुम्बईकी उषा मंगेशकरले । त्यतिबेला उषाले गाएको भाषाको शुद्धतासहितको गीतले आकर्षण गरेको थियो । मेरो गीतमा पनि उषाको स्वर हाल्छु भन्ने सोचे पनि पूरा हुन पाएको थिएन अहिले ६ दशकको यात्रामा ८२ वर्षे उषा र ८१ वर्षे मजस्तो युवकको स्वर मिसाउन पाइएको छ ।

म त पतझड थिएँ तिमी मधुमास थियौ
समयले हामी दुइलाई बदलिदियो
त्यसको लागि शिखर सन्तोष, सहदेव ढुंगाना, छोरा मोहित भेट भएर कुराकानी गरेँछन् । मेरो पनि सोख उषासँग गाउने थियो । सबै ट्रयाक बनाएर मेरो स्वर लिएर जानुभयो । मेरो वायोडाटा हेरेर, उषाजीले पनि मेरो स्वरलाई राम्रो मानेर स्वर मिसाइदिनुभयो । उमेर २४ वर्ष जति हुँदाको सपना ८१ वर्षमा आएर पूरा गरेको छु । गत वर्ष मात्रै माया लुकाइ लुक्दैन एल्बम सार्वजनिक गरेको थिएँ अहिले अर्को एल्बमको तयारीमा रहेको छु । उमेरले साथ दिएसम्म आफ्ना सिर्जनाहरु निरन्तर नेपाली सांगीतिक जगतलाई दिने प्रण गरेको छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु