समीक्षासँग मानस राजको सहकार्य, आयो ‘यसपालीको तीज बरै मेलबर्नमा’

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०८३, शनिबार ०१:२१

काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक तथा संगीतकार मानस राजको सहकार्यमा नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ सार्वजनिक भएको छ।
कृष्णाष्टमीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा डा. कृष्णहरि बरालको शब्द, मानस राजको संगीत तथा समीक्षा अधिकारी र मानस राजको स्वर रहेको छ। नरेन्द्र वियोगीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन्।

मानस राजकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो मेलबर्नका रमणीय स्थानमा छायांकन गरिएको हो। नेपअसले निर्माण गरेको भिडियोमा पूजा क्षेत्री, सायद श्रेष्ठ, गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्रीलगायत कलाकारको अभिनय रहेको छ।
भिडियोको निर्देशन तथा नृत्य निर्देशन सायद श्रेष्ठले गरेका छन्। मेलबर्नमा नेपाली कला, संस्कृति र भेषभूषाको प्रवद्र्धन गर्ने उद्देश्यले भिडियो तयार गरिएको श्रेष्ठले बताए।

‘यस्ता गीतले नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग जोड्नुका साथै विदेशी समुदायलाई पनि नेपाली परम्परा बुझ्ने अवसर दिन्छ,’ श्रेष्ठले भने।
यो मानस राजको पहिलो तीज गीत हो। उनले गीतमा तीजको कला, संस्कृति र चाडपर्वको उल्लासलाई प्रस्तुत गर्ने प्रयास गरिएको बताए।

‘मेलबर्नमा निकै मेहनत गरेर भिडियो तयार गरेका छौँ। अडियो र भिडियो दुवै सशक्त बनेका छन्,’ मानसले भने।
‘भाइरल भइदियो’ गीतबाट चर्चामा आएका मानसका ‘पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो’, ‘माया मायामा’, ‘हिरो’ र ‘लै लै राजकुमारी’ लगायतका गीत चर्चित छन्।

भिडियोमा जीवन रसाइलीको छायांकन तथा दिन्सन शाहको सम्पादन र रंग संयोजन रहेको छ। आइक्याच स्टुडियोमा पोस्ट प्रोडक्सन गरिएको भिडियो नेपअसले निर्माण गरेको हो।
प्रदीप दाहाल निर्माता र अञ्जन घिमिरे प्रस्तुतकर्ता रहेको भिडियो निर्माणमा आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट तथा लेनवे डम्पिङस एन्ड मोमोले सहयोग गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु