• विश्व र निशा उत्कृष्ट, पन्नाकाजीलाई लाइफटाइम

    म्यूजिक खबर
    प्रकाशित: ३० मंसिर २०७०, आईतवार

    काठमाडौ, ३० मंसिर । यस वर्षको इमेज अवार्डमा विश्व नेपाली र निशा देशार उत्कृष्ट गायक गायिकाका बन्न सफल भए । मुटु सियर.. बोलको गीतबाट विश्व नेपाली उत्कृष्ट गायक बन्न सफल भए भने म त अजनवी भएछु… बोलको गीतबाट निशा देशार उत्कृष्ट गायिका बन्न सफल भइन् ।
    १५ औं टुबोर्ग इमेज अवार्डले यो वर्षको लाइफटाइम एचिभमेन्ट अवार्डबाट गायक पन्नाकाजी शाक्यलाई प्रदान गरियो । उनलाई संगीतमा निरन्तर योगदान पु¥याएबापत इमेजका एमडी आरके मानन्धर, गीतकार यादव खरेल लगायतले सम्मान स्वरुप १ लाख रुपैयाँ र ताम्रपत्र हस्तान्तरण गरे । २००८ देखि रेडियो नेपालमा आबद्ध भई निरन्तर संगीतमा लागिपरेका पन्नाका “तिरिरी मुरली बज्यो वनैमा…”, “म तिमीलाई प्यार गर्छु…”, “एक आना दुई आना…” लगायत ४ सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।
    विभिन्न २२ विधामा प्रदान गरिएको इमेज अवार्डमा उत्कृष्ट एल्बमको अवार्ड भने ‘लभफरेभर’ एल्बमबाट गीतकार वसन्त चौधरीले प्राप्त गरे भने सर्वोत्कृष्ट गीतको अवार्ड पनि चौधरीकै हातमा पुग्यो । अवार्डमा
    सर्वोत्कृष्ट गीतकार देवेन गिरी, सर्वोत्कृष्ट संगीतकार हरि लम्साल भए भने सर्वोत्कृष्ट संगीत संयोजनबाट महाराज थापाले उपाधि उचाले । सर्वोत्कृष्ट महिला पप गायनको अवार्ड आस्था राउतले ‘खै त मलाई झुम्के बुलाकी…’ बाट प्राप्त गरिन् भने पुरुष पप गायनतर्फ ‘सम्झनामा…’ गीतबाट एड्रिन प्रधानले हात पारे । त्यसैगरी चलचित्र विन्दासको “बाटो मोडेर गयौ…” गीतका लागि शिव परियार र अर्जुन पोखरलेले सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड पाए ।
    यसै गीतका लागि भूषण दाहालले सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन अवार्ड पाए । प्रविन श्रेष्ठले सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनको अवार्ड पाए भने विदुर पाण्डे उत्कृष्ट छायाँकार बन्न सफल भए । सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतको अवार्ड चिरेर हेर…गाएका रविन शर्माको पोल्टामा प¥यो । सर्वोत्कृष्ट लोकगीततर्फ धनकुटा भोजपुर…गीतका लागि गणेश न्यौपानेले अवार्ड पाए । लोक दोहोरीतर्फ लाली बुढाथोकी र थानेश्वर गौतमले सर्वोत्कृष्ट उचाले । राजेश्वर तन्दुकारले सर्वोत्कृष्ट गीत रेकर्डको अवार्ड पाए भने रेखा शाह र कमल खत्रीले इमेज पब्लिक च्वाइस अवार्ड थापे । कार्यक्रममा विभिन्न कलाकारहरुको पस्तुति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु