गायिकाहरु अन्जु, बानिका, शान्तिश्री र लक्ष्मी बने ‘सर्वोत्कृष्ट गायिका’

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं । गायिकाहरु अन्जु पन्त, बानिका प्रधान, शान्तिश्री परियार र लक्ष्मी मल्ल सर्वोत्कृष्ट गायिका घोषित भएका छन् ।
राजधानीको सोल्टीमोडस्थित सोल्टी होटलमा भव्यताका साथ सम्पन्न ‘बाइसौं इमेज अवार्ड’ मा यी गायिकाहरु सर्वोत्कृष्ट घोषित भएका हुन् । अवार्डमा अन्जुले आधुनिक, बानिकाले पप, शान्तिश्रीले लोक र लक्ष्मीले लोकदोहोरी गीत बिधामा उत्कृष्ट अवार्ड हात पारेका हुन् । अन्जुले ‘पुरानो घाउ’ बोलको गीतबाट अवार्ड पाएकी हुन् भने बानिकाले ‘माया मारेर’ गीतबाट अवार्ड चुमेकी हुन् । त्यस्तै शान्तिश्रीले ‘घुमीघुमी’ गीतबाट अवार्ड आफ्नो पोल्टामा पारेकी थिइन् भने लक्ष्मीले डाँडाघरे साईंली गीतबाट सर्वोत्कृष्ट लोकदोहोरी गायिका बिधाको अवार्ड उचालेकी हुन् ।

सो अर्वाड समारोहमा ख्यातिप्राप्त हास्यव्यंग्य जोडी तथा गायकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।

गीत संगीतका विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको सो समारोहमा घुमी घुमीबाट शान्तिश्रीसँगै सुजन चापागाईंले लोक गीत गायनबाट अवार्ड पाए ।
डाँडाघरे साइलीबाट स्वरूपराज आचार्य र लक्ष्मी मल्ल दोहोरी गायनको अवार्ड विजेता बने।

त्यस्तै नबोली नबोलीबाट प्रवीण बेडवाल र समीक्षा अधिकारी समूह वा युगल गायनको विजेता बन्दा रमेश दाहाल आफैँ हिँड्ने बाटोबाट गीत रचना, तड्पी तड्पीबाट कर्मा ग्याल्जेन बम्जन संगीत, देखेर तिमीलाईबाट सुजन चापागाई र विद्या तिवारी सर्वोत्कृष्ट गीतको अवार्ड विजेता भए। त्यस्तै, मिलन नेवार फुलबुट्टे सारीबाट टुर्बोग पब्लिक च्वाइस अवार्ड विजेता भएकी छन् भने नुनको भारीबाट भीमसेन कल्याल ठकुरी म्युजिक भिडियो छायाँकार, पदम सुबेदी म्युजिक भिडियो सम्पादक र विनयराज पौडेल म्युजिक भिडियो निर्देशक विधाको अवार्ड विजेता भए।

कोरोना संक्रमण कारण अघिल्ला दुई वर्ष हुन नसकेको अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, संगीत, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो। कार्यक्रममा कलाकारहरूले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए। ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले दर्शक, श्रोता, विज्ञापन दातालगायतको साथ र सहयोगका कारण इमेज अवार्डले २२औँ संस्करण सम्पन्न गर्न सकेको बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु