
कलाकारिताकोे क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुको छाता संगठन राष्ट्रिय कलाकर्मी संघ नेपालको चुनावी सरगर्मी बढ्दै जाँदा नेतृत्व कसले हत्याउने भन्ने होडबाजी चलेको छ । आगमी माघ १ र २ गते हुन गइरहेको ११ औं साधरणसभा एवं तश्रो अधिवेशनमा संघको नेतृत्व कसले लिने भन्ने तँछाडमछाड नै चलेको छ । अध्यक्ष पदको उम्मेदवारी दिने मुडमा रहेका गायक नवराज घोरासैनी, रेशम थापा, गोकुल राउत र राजेन्द्र कुमार कार्कीको पक्षमा को को छन् र कति मत आउँछ भन्ने अनुमान कलाकारहरुले गर्न थालिसकेका छन् । संस्थाको वर्तमान महासचिवको हैसियतका कारण राजेन्द्र कुमार कार्कीको अध्यक्ष पदमा सम्भावना बढी देखिन्छ । उनलाई नै अध्यक्ष बनाउनुपर्छ भन्नेमा कलाकारहरुको बढी मत देखिए पनि चुनावी माहौलमा हारजित कसको हातमा हुन्छ भन्ने परीक्षाको घडी नजिकिँदै गइरहेको छ ।
त्यस्तै उपाध्यक्ष पदका लागि प्रकाश कटुवाल, लोकनाथ सापकोटा, अशोक धिताल, धनकुमारी थापा सरु र उमा श्रेष्ठको दौड चलिरहेको छ । त्यस्तै महासचिव पदको लागि भने विरही कार्की, अमृत खाती र श्याम धितालको नाम चर्चामा रहेको छ । त्यसो त संस्थाभित्र विरही कार्कीको नामलाई वरिष्ठ उपाध्यक्ष बनाउने वा महासचिव बनाउने भन्ने चहलपहल चलिरहेको निकट स्रोतले म्यूजिकखबरलाई बतायो ।
सचिव पदका लागि भने शर्मिला श्रेष्ठ, सरोज लामिछाने, लालमणि भुसाल, रामकुमार कार्की र गोविन्द दुलालको नाम चर्चामा आएको छ भने सहसचिव पदका लागि अहिलेसम्म उद्धव घिमिरेको मात्र नाम देखिएको छ । त्यस्तै कोषाध्यक्ष पदका लागि रमेश दुलाल कागे र श्रवण मिश्र देखिएका छन् ।
संघको सदस्य पदका लागि श्रीदेवी देवकोटा, भूमिका गिरी, दिनेश भण्डारी, बलु बिसी, दमन रुपाखेती, विलन थापा मगर, होमराज सुवेदी, जीवन परियार, रामकुमार श्रेष्ठ, श्रीकृष्ण दाहाल, सुनिता परियार, मिलन श्रेष्ठ, चन्द्र खड्का, किताव मोक्तान लगायतको नाम अगाडि सारिएको छ ।
चुनावी अधिवेशनलाई लक्षित गर्दै पुस २८ गतेसम्म सदस्यता वितरण र नविकरण गरिने बताइएको छ भने माघ १ गते नोमिनेशन दर्ता र फिर्ता गरिने कार्यक्रम रहेको छ । माघ २ गते जडिबुटीस्थित इशान बैंकटमा पर्यटन तथा संस्कृति मन्त्री आनन्द पोखरेलद्वारा अधिवेशनको उद्घाटन गरिने बताईको छ । यो अधिवेशनले गीतसंगीतमा भएको पाइरेसी नियन्त्रण, प्रतिलिपिअधिकारका मुद्दाहरुलाई विशेष रुपमा हेरेको महासचिव कार्कीले बताए ।