
भाद्र २, काठमाडौं । गीतकार संघ नेपालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्दै आएको स्रष्टा सम्मान कार्यक्रमको पाँचौं श्रृंखला आफ्नो क्यालेन्डरभन्दा धेरै पर आएर सम्पन्न गर्न लागेको छ । विभिन्न कारणहरु देखाउँदै धेरैपटक मिति सार्दै आएको यो कार्यक्रम अब भने आगामी भदौ १३ गते राजधानीमा सम्पन्न गरिने जनाइएको छ । संघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै स्रष्टा सम्मान र वर्ष गीत पुरस्कारको घोषणा गरेको हो ।
भदौ १३ मा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भनिएको पाँचौं राष्ट्रिय स्रष्टा सम्मान बाट गीतकार राजेन्द्र थापालाई एक लाख एक रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिने जनाइएको छ । त्यस्तै यो वर्षबाट डायस्पोरा सम्मान थप गरिएको छ भने वर्ष गीत पुस्तक पुरस्कार हटाइएको छ ।
त्यस्तै संस्थामा आबद्ध सदस्यहरुले वि.सं.२०७३ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा उत्कृष्ट १० गीतहरु छनोट गरिएको छ । जसमा आज फेरि– विरेन्द्र पाठक, आमाको तस्बिर – बिरही कार्की, उदासी मनलाई – डि.आर., एउटा सत्य – अन्जन किराँती, ऋणै ऋणको – सुवास संगम राई, जति नजिक – शंकरदेव कँडेल, बगी जाने– किरण टी लिम्बु, म मुस्कुराँउछु –विमला तुलाचन, हातको ठेला– नृपध्वज खड्का, हिमाल हल्लाउन–प्रभा बर्तौला उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । छानिएका उत्कृष्ट १० गीतहरु मध्येबाट बिशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई रु ५१ हजारनगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । तर धेरै उत्कृष्ट १० को सूचि तयार पार्दादेखि एकलौटी र मनोमानी ढंगले तयार पारिएकोे भन्ने विवाद पनि बाहिर आउन थालेको बताइएको छ ।