काठमाडौं । नेपाल चलचित्र विकास बोर्डमा नवनियुक्त अध्यक्षका रुपमा केशव भट्टराईले पदभार ग्रहण गरेका छन् । सोमबार अपरान्ह बोर्डमा भएको एक कार्यक्रमका बीच अध्यक्ष भट्टराईले पदभार ग्रहण गरेका हुन् ।
यसअघि तत्कालीन अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तत्कालीन अध्यक्ष निकिता पौडेल बिना जानकारी बैठकमा अनुपस्थित भएपछि सरकारले उनीमाथि स्पष्टीकरण माग गरेको थियो । सरकारको दबाबमा परेकी पौडेलको राजीनामा पछि बोर्डको १४औं अध्यक्षका रुपमा भट्टराई नियुक्त भएका हुन् ।
पदभार ग्रहणपछि चलचित्रकर्मी तथा सञ्चारकर्मीहरुमाझ सम्बोधन गर्दै अध्यक्ष भट्टराईले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केही महत्वाकांक्षी कार्ययोजना पेस गरिएकाले त्यसको सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गर्न केही समय लाग्ने भन्दै उनले सरकार समक्ष १६ बुँदे कार्ययोजना पेस गरेको बताए ।
आफू राजनीतिक कार्यकर्ता वा कुनै संघ विशेषको प्रतिनिधिका रुपमा बोर्डमा नरहको बताउँदै भट्टराईले चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नहुने बताए । राष्ट्रिय चलचित्र नीति पारित गर्न पहल गर्ने, बक्सअफिसको कार्यन्वयनमा कटिबद्ध भएर लाग्ने, २ वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार तत्काल सुचारु गर्ने र काठमाडौं उपत्यकामा नै छायाँकन स्टुडियो लगायतका कार्य आफ्नो पहिलो प्राथमिकतामा उल्लेख गर्दै भट्टराईले अबको सम्पूर्ण समय बोर्डका लागि दिने बाँचा समेत गरे ।