
काठमाडौं । छायांकनको तयारीमा रहेको नेपाली चलचित्र ‘युग’ ले बाढीपीडित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा रु. १ लाख १ हजार सहयोग प्रदान गर्दै आफ्नो शुभसाइत सम्पन्न गरेको छ।
चलचित्रका निर्देशक कोमलनाथ खतिवडाका अनुसार देशमा सिर्जिएको विपद्को परिस्थितिलाई मध्यनजर गर्दै निर्माण टोलीको सहमतिमा उक्त रकम राहत कोषमा जम्मा गरिएको हो। उनले वर्तमान कठिन समयमा विपद्पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
केही दिनअघि काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र ‘युग’को शुभमुहूर्त सम्पन्न भएको थियो। चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, हिमानी सुब्बा, अभिषेक खड्का, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा लगायत कलाकारहरूको अभिनय रहनेछ।
हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘युग’को कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ भने चलचित्र सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेको लगानीमा निर्माण हुन लागेको हो।
प्रारम्भिक तालिकाअनुसार भदौ १५ गतेदेखि छायांकन सुरु गर्ने तयारी रहे पनि देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै केही दिनका लागि छायांकन स्थगित गरिएको निर्माण पक्षले जनाएको छ। अवस्था सामान्य बन्दै गएमा निर्माण टोली यही साताभित्र छायांकनका लागि पोखरा प्रस्थान गर्ने तयारीमा रहेको निर्देशक खतिवडाले जानकारी दिएका छन्।