‘सपनाको झोली’ लिएर आए अमर वान्तु र राज सागर

म्यूजिक खबर
प्रकाशित: २ बैशाख २०७८, बिहीबार

काठमाडौं । घरबास छाडेर प्रवास धाउनेहरुको लहर अझै उस्तै छ । नेपाली युवा युवतीले श्रम र पसिना विदेशमा नै खर्चिएका छन् । आफ्नो भूमिमा फर्किएर आउने हो या होइन त्यो पत्तो छैन तर परिवारको खुशी खोज्दै विदेशिएका नेपालीहरुको कथा समेटेर गीतकार अमर वान्तुले नयाँ सिर्जना बजारमा ल्याएका छन् ।

पोखिएछौ विदेशको जंगल शहर गल्ली
कसो गरी भरौंला खै सपनाको झोली !
मलायामा होस् कि कतै रेगिस्तानी परदेश
अझै पनि उस्तै रैछ परदेशीको सन्देश !
ज्यानै बाजी राख्दा पनि कमी छैन व्यथा
डोरीबाट पुग्ने हो कि बाकसमा कथा !

माथिका शब्दजस्तै बनेको छ विदेशिने नेपालीको कथा पनि । सपनाको झोरी कसरी भर्ने भन्नेमै उनीहरुले ज्यानको बाजी लगाइरहेका छन् । गीतकार अमर वान्तु जीवनको आधा दशक बिताउँदै गर्दाको अनुभवलाई जीवन्त दिनेक्रममा समाजको भोगाई सिर्जना गरिरहेका छन् । सिर्जनाभित्र समाज बोल्छ, समाजभित्रको कथा सिर्जनामा उतारिन्छ यही नै उनको दिनचर्या बनिरहेको छ । गीतकार वान्तुको शब्द सिर्जनालाई राज सागरले संगीत सिर्जना गरेका छन् भने सुमधुर स्वरसमेत दिएर जीवन्त बनाएका छन् । सञ्जीव बराइलीको संगीत संयोजन रहेको यस गीतलाई दीप घतानीले ध्वनि सम्पादन गरेका छन् ।

‘सपनाको झोली’ गीतको म्यूजिक भिडियोलाई दीपेन भाटले निर्देशन गरेका छन् । गीतको भिडियोमा प्रज्जवल गौतम, निरुता खडका, मनोज ओली, रोजा तिमिलसिना र समभावी तिमिलसिनाको अभिनय रहेको छ । क्रियटिभ निर्देशन अनन्त तिमिलसिनाले गरेका छन् । भिडियोको छायाँकन राजकुमार केसीको रहेको छ भने सुप्रिम पराजुलीले भिडियोको सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु