काठमाडौं । गीतकार बालक गुरुङको दुई गीत ‘मेरा रहरहरु’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा गीतकार गुरुङका दुई गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा गीतसँग सम्बन्धित कलाकारहरुसँगै गीतलाई औपचारिक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले यी दुई गीतले आफ्नो ३० वर्षे गीतिलेखनको जवानीलाई सम्झाएको बताए ।
गीतकार संघकै हलमा आयोजना गरिएको उक्त कार्यक्रममा गीतकार बालक गुरुङले कोरोना भाइरसले मुलुकमा भीडभाड गर्ने अवस्था नभएका कारणले पत्रकारहरु मात्र बोलाएर सार्वजनिक गरिएको बताए । गीति लेखनको निरन्तरतामा आफ्ना दुई गीतलाई फरक तरिकाले ल्याएको बताए ।
‘मेरा रहरहरु’ मा धिरज राईको स्वर र संगीत रहेको छ । गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । यस गीतको म्यूजिक भिडियोमा धिरज लामा र कुसुम घोतानेको अभिनय रहेको छ ।
‘चन्द्र र सूर्य’ राष्ट्रिय भावको गीतमा गीतकार बालक गुरुङको नै संगीत रहेको छ । यस गीतमा राजेशपायल राई र अस्मिता अधिकारीको स्वर रहेको छ । यस गीतको संगीत संयोजन अशोक लोहारुङ राईको रहेको छ । यस गीतको म्यूजिक भिडियोमा बालक गुरुङ, राजेशपायल राई, अस्मिता अधिकारी, शित्तल कादम्बिनी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
दुबैवटा गीत गीतकार बालक गुरुङले नै लेखेका हुन् । यस दुबै गीतको भिडियोको निर्देशन रोजल थापाले गरेका छन् भने वीरेन्द्र भट्टले छायाँकन गरेका हुन् । दुबै भिडियोका सम्पादन भने अनिल रानाले गरेका हुन् । दुबै गीतलाई पञ्चम म्यूजिकबाट सार्वजनिक गरिएको हो ।