‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को काठमाडौं अडिसन नवोदितमा कलेजमा हुने

म्यूजिक खबर
प्रकाशित: २ चैत्र २०७९, बिहीबार

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसनयहि चैत्र ४ र ५ गते सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा हुने भएको छ ।

अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनुपर्ने छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ ।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।”

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजातावर्मा, पुष्पनप्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । त्यस्तै‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिलाशर्मा, दिलीप रायमाझी, शंकर बि।सी, केकीअधिकारी, प्रियंकाकार्की, र नरमन राई रहने जनाइएको छ ।

यी दुई शोहरु नेपालकोअहिले सम्मकै सर्वाधिक धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपली रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै उक्त बिधाका फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेको छ ।

संस्थाको बारेमा
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्थाहो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।

हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ । फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ जुन क्रमशः दुई र चार सिजन सफलता पूर्वक सञ्चालन भएका छन् । फाउन्डेसनले प्रसिद्ध शिक्षकहरूको नेतृत्वमा निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ । यी कक्षाहरुबाट करिब पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन् । त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपालीभाषी समुदायहरुमा फुटबल, क्रिकेट, स्नेकर र भलिबल जस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवन शैलीलाई उकास्न सक्रिय रूपमा काम पनि गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु