असोज ११ मा गीतकार संघ नेपालको १७औं वार्षिकोत्सवको भव्य समारोह हुँदै, अन्तिम तयारी तीब्र

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार २३:१५

काठमाडौं । गीतकार संघ नेपालको १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना हुन लागेको ‘सम्मान तथा पुरस्कार समारोह एवम् सांगीतिक कार्यक्रम–२०८३’ को अन्तिम तयारी भइरहेको छ । यसअघि भदौ २५ गतेका लागि तय गरिएको उक्त कार्यक्रम देशमा आएको विनाशकारी बाढीपहिरोका कारण स्थगित गरिएको थियो ।

संघले स्थगित भएको उक्त कार्यक्रम आगामी २०८३ असोज ११ गते, आइतबार भव्यताका साथ आयोजना गर्न लागेको हो । काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा दिउँसो ठीक ३ः ०० बजेदेखि औपचारिक रूपमा सुरु हुने यस समारोहका लागि सबै प्राविधिक तथा व्यवस्थापकीय तयारीहरू अन्तिम चरणमा पुगेको गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापाले जनाएका छन् । अध्यक्ष थापाका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूका लागि दिउँसो २ः ३० बजेदेखि हल प्रवेशको व्यवस्था मिलाइएको छ ।

प्रतिष्ठित गीतकार किरण खरेल प्रमुख अतिथि रहने उक्त विशेष समारोहमा सिंगो कला क्षेत्रका विशिष्ट र लोकप्रिय व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहने छ । यस वर्षको विशेष समारोहमा नेपाली कला र गीत(संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्वहरूलाई विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कार अर्पण गरिने भएको छ । जसअनुसार प्रतिष्ठित गीतकार निर शाहलाई १ लाख ५१ हजार नगदसहित ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ अर्पण गरिने छ ।

त्यस्तै, समारोहमा ‘डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल–२०८२’ बाट १५ हजार नगदसहित गीतकार नीलम आङबुहाङ राइ, ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान –२०८२’ बाट लोहोरुङ राई भाषाका नईन्द्र लोहोरुङ २५२५२ नगदसहित सम्मानित हुनेछन् ।
त्यसैगरी, हरिभक्त बुढाथोकी प्रतिभा गीतकार सम्मान गीतकार संघ नेपाल– २०८२ बाट गीतकार अरुण तिवारी र गीतकार सुशिला पौडेललाई जनही १५ हजार नगदसहित सम्मान गरिने भएको छ । यसवर्षबाट संघले शुरू गरेको ‘गीतकार संघ नेपाल पत्रकारिता सम्मान’बाट हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल सम्मानित हुनेछन् ।

त्यसैगरी, भैरवनाथ रिमाल ‘कदम’ वर्ष गीत पुरस्कार गीतकार संघ नेपालका छनोट भएका उत्कृष्ट दश गीतबाट उत्कृष्ट १ गीतले ५७ हजार नगदसहित पुरस्कार प्रदान गरिने छ । छनोट भएका गीतहरूमा – डम्बर याक्सोको म त तिम्रो नजरमा, प्रबल विष्टको भुल्न सकिनँ, लेखराज गिरीको एउटै बाटो, राम भट्टराईको जिन्दगीको सुख खोज्दै, गौरव गुरुङको तिम्रो सम्झनामा, हरिराम पौडेलको आफ्नै प्रितिको गीत, रविन्द्र आशिष शैलीको छैन जून आज, अमरदीप सुनुवारको मायाजाल मोहनी, डा.विष्णुमूर्ति भट्टराईको मेरो नाम लिने ओठले र डा.रुद्रनाथ अधिकारीको आउन माया आउ रहेका छन् ।

त्यस्तै, समारोहमा ५७ हजार नगदसहित ‘जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ बाट एकजना गीतकार पुरस्कृत हुनेछन् । यस पुरस्कारका लागि यो वर्ष कल्पना खरेलको नन्दनी, ध्रुव खनालको मनको आँखा र डा. ज्ञानेन्द्र गदालको भोलिको आश उज्यालो प्रकाश छनोटमा परेको गीतकार संघले यसअघिनै सार्वजनिक गरेको थियो ।

समारोहको मुख्य आकर्षणको रूपमा रहने सांगीतिक खण्डमा नेपालका १० जना चर्चित गीतकारहरू – डा. भोला रिजाल, गणेश रसिक, निर शाह, एसपी कोइराला, अमर बान्तु, विनोद चौधरी, डा. कृष्णहरि बराल, योगेन्द्रमणी दाहाल, चुडामणी देवकोटा र शुभ मुकारुङका लोकप्रिय कालजयी गीतहरू गुञ्जनेछन् । ती कालजयी सिर्जनाहरूलाई देशका ख्यातिप्राप्त गायक–गायिकाहरू जगदिश समाल, सञ्जय तुम्रोक, अशोक मुकारुङ, रुपक चौधरी, बिनुसा राई, निशा देसार, माण्डवी त्रिपाठी, प्रेम परियार, सुमित खड्का र गणेश पराजुलीले र गणेश पराजुलीले प्रत्यक्ष वाद्यवादन (लाइभ म्युजिक) मा आफ्नो बेजोड गायनमार्फत प्रस्तुति दिनेछन् ।

कार्यक्रमको पृष्ठभूमि र स्थगित हुनुको कारणबारे जानकारी दिँदै गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोले पु¥याएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भने– ‘मुलुकमा आइपरेको यस्तो दुःखद् र संवेदनशील परिस्थितिका कारण नै हामीले भदौ २५ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरेका थियौं । सामाजिक उत्तरदायित्व वहन गर्दै संघका तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. १ लाख १५ हजार रुपैयाँ राहत रकम समेत जम्मा गरिसकेका छौं । विषम परिस्थितिपछि हुन लागेको यस सांगीतिक कार्यक्रमले मानसिक रूपमा थकित आम संगीतप्रेमी र उपस्थित सबैलाई सांगीतिक राहत तथा उर्जा पुगोस् भन्ने हाम्रो चाहना छ ।’ उनले अगाडि भने – आदरणीय स्रष्टाहरूको सम्मान र नेपाली संगीतको उत्सवलाई भव्य रूपमा सम्पन्न गर्न संघका सम्पूर्ण पदाधिकारीहरू लागि पर्नुभएको छ ।’ अध्यक्ष थापाले कार्यक्रमको लगभग सबै तयारी पुरा भइसकेको बताउँदै संगीतप्रेमी, पत्रकार, गीतकार तथा सम्पूर्ण सरोकारवालाहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु