काठमाडौं । दिवंगत आमाको वार्षिक पूण्यतिथी नजिकिँदै गर्दा गीतकार मनोज खड्काले आमाकै सम्झनामा केन्द्रीत रहेर ‘तेजस्वी अप्सरा’ सार्वजनिक गरेका छन् । नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले संयुक्त रुपमा आयोजना एवम् प्रतिष्ठित गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा ‘तेजस्वी अप्सरा’ सार्वजनिक गरिएको हो । नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शब्दद्वारा स्वागत गरेका थिए ।
नेपाली सुगम संगीतका जादुमय स्वरकी धनी मेनुका पौडेलको स्वरमा रहेको छ । गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ । गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका हुन् । गीतको भिडियो लिरिकल शैलीमा तयार पारिएको छ । गीतमा गायिका मेनुका, गीतकार मनोज, संगीतकार कल्याण समेटिएका छन् । भिडियोमा गीत रेकर्ड गर्दाको क्लिपहरु राखिएका छन् ।
कार्यक्रममा प्रतिष्ठित गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै आगामी दिनमा सशक्त सिर्जना ल्याउन प्रेरित गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति संगीतरत्न संगीतकार शम्भुजीत बास्कोटाले ‘तेजस्वी अप्सरा’ शब्द, संगीत र स्वरको संगमले सिंगारिएको गीत रहेको बताए । त्यस्तै पूर्व अर्थमन्त्री वरिष्ठ गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गरे । भारतमा रहेकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै एउटा राम्रो शब्दमा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन् ।
गीतका गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर ‘तेजस्वी अप्सरा’ लेखिएको बताए । ‘यो गीत मेरा लागि शब्द र मेलोडी मात्र भन्दा पनि पिस अफ हार्ट हो । आमा गुमाउदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु । आफ्ना आत्मीयजन् गुमाएका श्रोता दर्शकले यो गीतको थप गहिराई महशूस गर्न सक्नुहुन्छ’, उनले भने । उनले आफूले गीत लेख्दा पीडा र ऊर्जालाई सन्तुलनमा राख्ने कोसिस गरेको बताए ।
गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएडको मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाल लगायत विभिन्न देशहरुको कार्य अनुभव बटुलेका खड्काले बिशेष गरेर सम्बन्धका पाटाहरु, प्रेरणाका स्रोतहरु, वैदेशिक रोजगार जस्ता समाजका आयामहरुलाई मिहीन ढंगले गीतमा उतार्ने गरेका छन् । कार्यक्रम नेपाल सांगीतिक संघका महासचिव सुमन बैरागीले संचालन गरेका थिए ।
दर्जन हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको रामकृष्ण ढकालको स्वरमा रहेको ‘गाउँघरले सोध्यो परदेशीलाई’, र प्रमोद खरेल तथा डा। त्रिशला गुरुंगको युगल स्वरमा रहेको ‘तिमी जे बन उदाहरण बन’ चर्चामा छन् ।