
ललितपुर । संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितकाे सहयोगार्थ तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले शनिबार साइकल र्यालीकाे आयोजना गरेको छ ।
‘बाढीपीडितका लागि साइकल , मानवताका लागि एकता’ भन्ने नारासहित आयोजित र्यालीमा काठमाडौँ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकलप्रेमी र स्थानीयको सहभागिता थियो । र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएको विद्यालयले जनाएको छ ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्यालीलीको उद्घाटन गरेका थिए । र्याली व्यवस्थापनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेका थिए । त्यस्तै विद्यार्थी तथा विभिन्न संस्थाका १५० भन्दा बढी स्वयंसेवक र्यालीको रुटमा खटिएका थिए ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताए ।
साइकल र्यालीले युवापुस्तालाई शारीरिक तथा मानसिक रूपमा सक्रिय बनाउनुका साथै समाजप्रतिको जिम्मेवारी र वातावरणप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने उनले बताए । यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले संविधानको महत्व बुझाउन विद्यार्थी, अभिभावक र सरोकारवालालाई यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताए ।
महालक्ष्मी नगरपालिकामा पहिलोपटक आयोजना गरिएको र्यालीमा देखिएको सहभागिताले आगामी वर्षमा समेत कार्यक्रम सञ्चालन गर्न उत्साह थपिएको उनले बताए ।
विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले बाढीपहिरो प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई खेलकुद गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, व्यवहारिक तथा जीवनोपयोगी शिक्षासँग जोड्ने उद्देश्यले र्याली आयोजना गरिएको बताए ।
र्यालीको दर्ता शुल्कबाट उठेको रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने उनले जानकारी दिए । विद्यालयले यसअघि भोटेकोशी बाढी प्रभावितका लागि ललितपुर प्याब्सनमार्फत ५१ हजार रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

इमाडोलस्थित काठमाडौँ शिक्षालय ललितपुरबाट सुरु भएको र्याली कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टिकाथली, बालकोट, चाँगाथली, लुभु र लामाटार हुँदै शङ्खदेवी मन्दिर पुगेको थियो । त्यसपछि विष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनः विद्यालय परिसरमा फर्किएर र्याली समापन गरिएको थियो ।
र्यालीमा २० र २५ किलोमिटर दूरीका दुई विधा राखिएका थिए । र्यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।
जलवायु परिवर्तनका विषयमा आफ्ना आरोहण अभियानमार्फत आवाज उठाउँदै आएका पाण्डेले बढ्दो विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलगायत वातावरणीय जोखिम बढ्दै गएको बताए ।
विद्यालय तहबाटै वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी चेतना अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ । साइकल चलाउनु स्वास्थ्य र खेलकुदका लागि मात्र नभई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमसमेत बन्न सक्ने उनले बताए ।
काठमाडौँ शिक्षालय ललितपुरले यस वर्षदेखि प्रत्येक वर्ष संविधान दिवसका दिन साइकल ¥याली आयोजना गर्ने योजना बनाएको जनाएको छ ।
संविधान दिवसलाई औपचारिक कार्यक्रमभन्दा स्वास्थ्य, वातावरण, सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडेर वार्षिक अभियानका रूपमा निरन्तरता दिने विद्यालयको योजना छ ।
विद्यालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा नं. १ का अध्यक्ष छिरिङ लामा, वडा नं. ४ का अध्यक्ष अमृत केसी, नगरका शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेललगायत वडा सदस्य तथा व्यावसायिक साइक्लिङ खेलाडीहरूको उपस्थिति थियो ।
सहभागी शिक्षक, विद्यार्थी तथा अभिभावकले बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक सेवामा सहभागिता जनाएको विद्यालयले जनाएको छ । विद्यालयले र्यालीमा सहभागीलाई टी–सर्ट, पदक तथा सहभागिताको प्रमाणपत्र प्रदान गरेको थियो ।