• राष्ट्रिय चलचित्र पुरस्कारमा विपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित, चैत्यदेवीलाई दीर्घ साधना सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०८१, बिहीबार

    काठमाडौं । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भए । चलचित्र प्रसाद–२ बाट सर्वोत्कृष्ट अभिनेता घोषित भएका हुन् भने स्वस्तिमा चलचित्र दिमाग खराबबाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी हुन् ।
    सोही अवसरमा चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी सिंहलाई ३ लाख ७५ हजार राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । चलचित्र उद्योगमा ५० वर्षसम्म निरन्तर क्रियाशील रही चलचित्र उद्योगलाई पु¥याएको योगदानको कदर गर्दै अभिनेत्री चैत्यदेवीलाई सम्मान प्रदान गरिएको चलचित्र विकास बोर्डका अध्यष दिनेश डिसीले बताए ।

    कार्यक्रममा निश्चल बस्नेतले दिमाग खराब चलचित्रबाट सर्वोत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गर्न सफल भए भने चलचित्र ‘बुलाकी’ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्न सफल भयो ।

    चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपतिको कार्यालयमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रलाई निर्णायकहरुले छनौट गरी १० वटा विधामा पुरस्कार प्रदान गरिएको हो ।
    उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरियो । कर्णालीकी एक निःसन्तान महिलाको कथा पेश गर्ने फिल्म ‘बुलाकी’ले सबैभन्दा धेरै ३ विधा जित्दा ‘दिमाग खराब’ दुई विधामा उत्कृष्ट ठहरियो । राष्ट्रिय चलचित्र पुरस्कार जित्ने सबै फिल्मले २५÷२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

    राष्ट्रिय फिल्मको जुरीमा यसपटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशिल पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत छन् ।

    कार्यक्रममा चलचित्र बुलाकीबाट सर्वोत्कृष्ट पटकथा तथा संवादतर्फ राजबहादुर साने, सर्वोत्कृष्ट छायांकन शिव ढकालले प्राप्त गर्न सफल भए । त्यसैगरी सर्वोत्कृष्ट सम्पादनतर्फ चलचित्र महाजात्राबाट मित्र डी गुरुङले पुरस्कार प्राप्त गरे । सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्मतर्फ लिम्बु भाषाको चलचित्र लोजिमामा पुरस्कार प्राप्त गर्न सफल भयो भने चलचित्र टुल्कीबाट स्वस्तिमा कार्कीले प्रोत्साहन पुरस्कार चुम्न सफल भइन् । त्यस्तै सर्वोत्कृष्ट व्यवसायिक चलचित्र जारी बन्न सफल भयो । राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा विशेष चलचित्रका रुपमा सतीदेवीबाट लक्ष्मण सुवेदीले सम्मान ग्रहण गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु