काठमाडौं । चलचित्र ‘एक्टर’का निर्माताले ‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा दायर गरेको रिटको आधारमा मंगलबार जिल्ला अदालतले अन्तरकालिन आदेश दिँदै प्रदर्शनमा रोक लगाएको छ । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिँदै माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ ।
निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालिन आदेश दिएको बताउँदै अदालतको वेबसाइटमा प्रत्यार्थी झिकाउन अन्तरकालिन आदेश दिइएको उल्लेख गरे ।
मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टरः टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालिन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’
एक्टरका निर्माताले दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । हुबहु चलचित्रको नाम चोरी गरेर कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेको भन्दै गैरकानूनी रुपमा चोरी गरिएको आरोप रिटमा उल्लेख गरिएको छ । साथै, रिटमा ‘एक्टरः टेक वन’लाई कुनैपनि विधि, पद्दति (चलचित्रघरमा, डिजिटल माध्यममा, टेलिभिजनमा) कहिँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक गर्न आदेश समेत जारी गरि पाऊँ भन्ने माग गरिएको छ ।
राजन भुसाल निर्देशित चलचित्र ‘एक्टरः टेक वन’ भोलि बुधबारदेखि प्रदर्शन तयारीमा थियो । धेरै हलहरुमा चलचित्रको बुक भइसकेको थियो तर अदालतमा रिट दायर गरेको समाचार आएपछि केही हल द्विविधामा समेत परेर बुक गरका थिएनन् । नामलाई लिएर दुबै चलचित्रबीच केही समयदेखि विवाद हुँदै आएको थियो । दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो ।