काठमाडौँ । नेपाली मौलिक कला, संस्कृतिको क्षेत्रमा क्रियाशील रहँदै सञ्चारकर्ममा लागेको संस्था राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले १६ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । संस्थाले १६ औं वर्ष पुरा गरेको उपलक्ष्यमा दुई दिनसम्म विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको स्थापना २०६५ साल माघ २० गते भएको थियो । स्थापना दिवसको सन्दर्भ पारेर माघ १९ र २० गते विविध कार्यक्रमहरु भएका हुन् ।
पहिलो दिन माघ १९ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ को परिसर जोरपाटी, पिपलबोटमा रक्तदान कार्यक्रमको आयोजना गरियो । रक्तदान कार्यक्रममा नेपाल मेडिकल कलेज, रक्त सेवा विभागको प्राविधिक सहयोग, गोकर्णेश्वर नगरपालिका र वडा नं ५ कार्यालयको सहकार्यमा सम्पन्न भएको हो । यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल प्रमुख अतिथ्यता र वडाध्यक्ष नारायण बहादुर सुबेदीको विशिष्ट आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रममा लोकप्रिय गायिका सन्जु न्यौपाने, संचारकर्मी सबिता पोखरेल लगायत कलाकार, पत्रकार एवम् स्थानीयहरुले रक्तदान गरेका थिए ।
यसैगरि स्थापना दिवसको दिन माघ २० मा गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान तथा बनभोज कार्यक्रमको आयोजना गरिएको थियो । रेडियो थाहा सञ्चारमा कार्यरत सञ्चारकर्मी ओम भण्डारीलाई यस वर्षको ‘गोविन्द शर्मा स्मृती क्रियाशील पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । बालाजु, बाइसधारापार्कमा आयोजित कार्यक्रममा कार्यक्रममा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा भएको समारोहमा भण्डारीलाई नगद ५ हजार ५५५ रुपयौँसहित सम्मानित गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगम चौलागाईं सक्रिय पदाधिकारी सम्मान अर्पण गरियो । संगठनमा रहेर सक्रिय पत्रकारिता गर्दै पेशागत र सांगठनिक हितमा योगदान गरेबापत सञ्चारकर्मी सरगमलाई सम्मान गरिएको हो ।
यसैगरि संगठनमा अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै संस्थापक अध्यक्ष गोविन्द गिरी र निर्वतमान अध्यक्ष हरिबल्लभ नेपाललाई समेत सम्मान गरिएको थियो भने कानुनी सल्लाहकार रामकृष्ण श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई राष्ट्रि«य लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, प्रमुख अतिथी संस्कृतीविद तुलसी दिवस लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा संस्थाको आधिकारिक वेबसाइट https://loksancharkarmi.org.np/ को लन्चसमेत गरिएको थियो ।
कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी उपाध्यक्ष राधिका हमाल, गायिका तथा भागवत कथा बाचिका योगमाया सखी बबिता बानियाँ जेरीले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष बबिता श्रेष्ठ, गायिका आयुषा गौतम, सन्जु न्यौपाने, गायक बालचन्द्र बराल, युवराज कँडेल लगायत थुप्रै चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा गायिका राधिका हमाल, बालचन्द्र बराल लगायतले प्रस्तुति दिंदा उपस्थित सबै रमाएका थिए ।
कार्यक्रमका उपस्थित प्रमुख अतिथी, अतिथिहरु, सहयोगी कलाकारहरु र संस्थालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । १६औं स्थापना दिवसका लागि गोकर्णेश्वर नगरपालिका, वडा नं ५ वडा कार्यालय, नेपाल मेडिकल कलेज, जुम ब्यूटि एकेडेमी, गहना कोशेली, इनेपाल रोधि घर, गायक तथा मोडेल दुर्गेश थापा, पशुपति म्यूजिक प्रा।लि।का सञ्चालक तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका आजीवन सदस्य शिव पौडेल, गायक अमृत सापकोटाले आर्थिक तथा प्राविधिक साथ दिएका थिए ।