
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका सदावहार र लोकप्रिय गायक हुन् रामकृष्ण ढकाल । विशेषतः नेपाली सुगम संगीत क्षेत्रमा उनी अग्र पंक्तिमा उभिएका छन् । उनले ४ हजार भन्दा बढी गीतमा स्वर भरेका छन् भने सयौं गीतहरु त कालजयी नै बनेका छन् । सुप्रसिद्ध भारतीय गायिका लता मंगेश्वर र आशा भोसलेसँग समेत गीत गाउने अवसर पाएका उनले गर्विलो सांगीतिक यात्रा गरेका छन् । नेपाली गीत–संगीतका उपल्लो कोटीका गायकको यतिबेला ‘सांगीतिक यात्रा’ लाई दुरुस्त उतारिएको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘गायक’ बोलको उक्त म्यूजिक भिडियो हेरिरहँदा, सुनिरहँदा उनको यात्राको दिनहरुको आफू नै साक्षी भएको महशुष हुन्छ ।
गीतमा भनिएको छ –
गीतमै हाँस्छु, गीतमै रुन्छु – सुख दुख जति
आफूलाई आफैं बिर्सिदिन्छु – गाउँदै जान्छु जति
जिन्दगी यो सुर ताल, म त केवल साधक
जिन्दगी यो गीत मेरो, म त केवल गायक
गायक रामकृष्ण ढकालकै लागि लेखिएको महशुष हुने गीतलाई बिष्णु कुमार केसीले लेखेका हुन् । गीतमा हरि लम्सालले संगीत भरेका हुन् भने रिकेस गुरुङले संगीत संयोजन गरेका हुन् । अकस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रेकर्ड तथा मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् ।
गीतको अर्को अन्तरामा भनिएको छ ––
सुनगाभा र सयपत्री, फूल कति कति
कति लाएँ माया प्रिती, भूल कति कति
जिन्दगी यो नाटक रैछ, म त केवल नायक
जिन्दगी यो गीत मेरो, म त केवल गायक
प्रकाश पाण्डेको टिमले निर्देशन गरेको म्यूजिक भिडियोमा समेत स्वयं गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन् । उनको सजिव अभिनयले भिडियो हेर्नेलाई समेत पुराना दिनमा फर्काउन सफल छन् । बाल्यकालदेखि युवाअवस्था हुँदै यतिन्जेलका क्रियाशीलता तस्बीरमार्फत देखाइएको छ । अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियोलाई रामकृष्ण ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतलाई नयाँ वर्ष २०८२ को अवसर पारेर वैशाख १ गते सार्वजनिक गरिएको हो । जीवनको यथार्थता बोकेको गीतको अन्तिम लाइनले जो कोहिको हृदयमा स्पर्श हुन्छ । अझ गायकको सुन्दर र भावुक आवाजले मनलाई पहिलेभन्दा बढी छुन्छ ।
गीतमा भनिएको छ –
कति खाएँ ठक्कर हण्डर, चोट कति कति
तर पनि बगिरहें, थाकिनँ म रति
विधाताले भाग्यमा, यस्तै लेख्यो सायद
जिन्दगी यो गीत मेरो, म त केवल गायक
जिन्दगीकै गीत गाउने, म त केवल गायक
भावुक अनि कर्णप्रिय यस गीतलाई युट्युबमा पनि धेरै नै प्रंशसा गरिएको छ । अधिकांश कमेन्टमा दोस्रो नारायण गोपालको उपमा दिइएको छ । त्यस्तै भिडियोले आफूलाई पुराना दिनमा फर्काएको भनेर गीतको सिंगो टिमलाई बधाई तथा शुभकामना दिइएका कमेन्टहरु पनि उतिकै छन् ।