• संगीतकार अशोक कुमार राई र कलाकार वीरेन्द्र हमाल लगायत ७ जनालाई प्रज्ञा प्रतिष्ठानको सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २० जेष्ठ २०८२, सोमबार १२:३१

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १८औँ गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र सुदृढीकरणमा सँस्कृतिकर्मीको भूमिका विषयक बृहत अन्तरक्रिया तथा गणतन्त्र स्रष्टा सम्मान–२०८२ कार्यक्रम आयोजना गर्दै संगीतकार गायक प्राज्ञ अशोक कुमार राई र नाट्यकर्मी वीरेन्द्र हमाललाई सम्मानित गरेको छ । प्राज्ञ राई र नाट्यकर्मी हमालसँगै सम्मानित हुनेहरुमा प्राज्ञ उदय श्रेष्ठ, संगीतकार काशिराम बुढामगर ‘झंकार’, गायक माधव श्रेष्ठ ‘मोहित’, केशरी घर्तीमगर ‘एलिना’, नृत्य निर्देशक उदिराम खड्का रहेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको प्रमुख आतिथ्यतामा संगीतकार राई र नाट्यकर्मी हमाललगायत ७ जना स्रष्टा कलाकारलाई सम्मान गरेको हो ।

    सम्मानपछि बोल्दै राज्यमन्त्री चौधरीले ‘हिजो नेपाली समाजमा राज्य सञ्चालकको सन्तान नै राज्यको मालिक बन्ने व्यवस्थाको आज अन्त्य भएको बताए । दलित, महिला, मधेसी, मुस्लिम, आदिवासि जनजाति, अल्पसख्यक समुदायको अधिकार गणतन्त्रले सुनिश्चित गरेको जिकिर गरे ।’
    कार्यक्रममा गणतन्त्र स्थापनाका १७ वर्ष वितेको र १८औँ गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सुदृढिकरणमा संस्कृतिकमीहरुको भूमिका’ बारे बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृतिविद् वरिष्ठ साहित्यकार निनु चापागाईँले नेपालमा गणतन्त्रको प्राप्तिको नारा ९० वर्ष अगाडि लागेको स्मरण गराउँदै सनातन हिन्दु राज्यको रुपमा रहेको सामन्तवादी राज्यसत्ता, राजतन्त्रात्मक व्यवस्था नेपाली जनताको लागि नभई सत्ता सञ्चालक र राज खानदानका लागि मात्र भएको जिकिर गरे ।
    त्यसैगरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ श्याम तमोटले हिजो गणतन्त्रका लागि अनवरत संघर्ष गरेको इतिहास छ । आज नेपाली समाजको गणतन्त्र सुदृढिकरणका लागि संस्कृतिकर्मीहरुले सिर्जनामा निरन्तरता दिन जरुरी छ । गणतन्त्रको संस्कृति कस्तो बनाउने यो महत्वको जिम्मा संस्कृतिकर्मीमा आएको बताउँदै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुसंस्कृत बनाउन जरुरी भएको बताए ।’
    प्रतिष्ठानका उपकुलपति शम्भुकुमार राईले स्वागत गर्दै नेपालमा गणतन्त्र नआएको भए म जस्तो राईको छोरो यो प्रज्ञा–प्रतिष्ठानमा आउने थिएन भन्दै गणतन्त्र दिवसको अवसरमा स्रष्टा कलाकार सम्मान गर्न पाउनु प्रतिष्ठानको कर्तव्य भएको बताए । कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले सञ्चालन गरेकी थिइन् ।
    कार्यक्रका सभापति तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेले गणतन्त्रका लागि विगतमा मञ्चन गरिएका नाटकहरुको स्मरण गर्दै कार्यक्रम सफलताको लागि आ–आफ्नो भूमिकाका सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु