
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का युवा नेता नवराज पुडासैनी ‘गुराँसद्वारा लिखित ‘संघर्षमा सिरानचोक’ लोकर्पण भएको छ । ‘संघर्षमा सिरानचोक’ लाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हाताबाट लोकर्पण गरिएको हो । सार्वजनिक समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको बताएका छन् । ‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ,’ उनले भने ।
उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’ उनले जनयुद्धलाई आंतककारीका रूपमा व्याख्या गरिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।
‘जो आफूलाई मूलधार ठान्छन्, उनीहरु आज पनि जनयुद्धलाई आतंककारी भनेर पढाउन रमाउँछन्’, उनले भने, ‘देश सामन्ती राजतन्त्रबाट गणतन्त्रमा आइपुगेको छ भने त्यस परिवर्तनको प्रमुख वाहक जनयुद्धको इतिहासलाई पाठ्यक्रममा राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’
अध्यक्ष प्रचण्डले ७५३वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष प्रचण्डले प्रत्येक पालिका र वडास्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए ।
पुस्तक ‘संघर्षमा सिरानचोक’ मा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते, कारागार जीवन र वाम आन्दोलनसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमलाई समेटिएको लेखक पुडासैनीले बताए।
समारोहमा पुस्तक विमोचनसँगै विषयगत छलफल भएको थियो। माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने, मोहन लामिछानेले पुस्तकमाथी टिप्पणी गरेका गरेका थिए ।