वरिष्ठ कवि वैरागी काइँलालाई ६ लाख रुपैयाँसहित ‘अन्तर्राष्ट्रिय जीवन गौरव सम्मान’ प्रदान

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०८३, सोमबार २१:५७

काठमाडौं । नेपाली साहित्य र कविता विधाका शिखर पुरुष, मुन्धुम संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ नगद ६ लाख रुपैयाँ राशिको प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय जीवन गौरव सम्मान’ बाट सम्मानित हुनुभएको छ ।

स्वीकारोक्ति फाउण्डेसन र ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेन्स (जिबिएलओ) को संयुक्त तत्वावधानमा नेपाल प्रज्ञा भवनमा आयोजित एक भव्य साहित्यिक समारोहका बीच वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा उहाँलाई यो सम्मान प्रदान गरिएको हो। कार्यक्रमको सभापतित्व फाउण्डेसनका अध्यक्ष डेन्जोम साम्पाङले गर्नुभएको थियो ।

कवि वैरागी काइँलाले सात दशकभन्दा लामो समयदेखि नेपाली कविताको समृद्धि, ‘तेस्रो आयाम’ (आयामवाद) साहित्यिक आन्दोलनको प्रवर्द्धन र किराँत लिम्बू समुदायको मुन्धुम संस्कृति तथा दर्शनको अन्वेषण एवं संकलनमा पुर्‍याउनुभएको अद्वितीय योगदानको उच्च मूल्यांकन गर्दै यो पुरस्कार समर्पण गरिएको हो ।

सम्मान ग्रहण गरेपछि कवि वैरागी काइँलाले विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकार र डायस्पोराका स्रष्टाहरूले नेपाली भाषा र साहित्यको विश्वव्यापीकरणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, लेखक, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त पुरस्कारको प्रारम्भिक घोषणा नेदरल्याण्डको द हेगमा सम्पन्न जीभीएलओको छैटौं विश्व सम्मेलनका क्रममा गरिएको थियो । वर्तमान विश्वमा जीवन, जगत, परिवेश र पर्यावरणलाई नवीन दृष्टिकोणबाट नियाल्ने ‘स्वीकारोक्ति दर्शन’ र चिन्तनलाई फैलाउने उद्देश्यले स्थापित यस संस्थाले यो प्रतिष्ठित पुरस्कार दोस्रोपटक प्रदान गरेको हो । यसअघि सन् २०२२ मा यो पुरस्कार नेपाली मूलका वरिष्ठ भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु