
काठमाडौं। परिवर्तन नेपालको आयोजनामा गुरुपूर्णिमा २०८३ विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मोहन निरौलाले आफ्ना शिष्य, सहकर्मी तथा गुरु समान व्यक्तित्वहरूलाई एकै स्थानमा भेला गरी गुरु–शिष्य सम्बन्धको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्नुभएको हो।
अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा एक सयभन्दा बढी व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठित कलाकार मदनदास श्रेष्ठ, लय संग्रौला, अभिनेता कृष्ण मल्ल र सपना श्रेष्ठलाई मन्चमा राखेर निरौलाले गुरुपूर्णिमाको अवसरमा शिष्यहरुसँग भेटघाट तथा जलपान कार्यक्रम सम्पन्न गर्नुभएको हो ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै परिवर्तन नेपालका उपाध्यक्ष तथा संगीतकार सन्तोष श्रेष्ठले गुरुपूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभयो। उहाँले वैदिक परम्पराअनुसार वेदव्यास ऋषि र गुरु गोरखनाथलाई प्रथम गुरुका रूपमा सम्मान गर्ने परम्परा रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ब्यास ऋषिलाई पहिलो गुरु मानिएको बताउँदै चार वेदसँग सम्बन्धित नीति नियम र अनुशासनका बारेमा प्रष्ट पार्नुभयो । उहाँले गुरुपूर्णिमा मनाउँदै गर्दा माता पिता र गुरुदेव प्रतिको समर्पण, अनुशासन पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै समय अनुसार परिवर्तन भए पनि गुरुप्रतिको आस्था भने परिवर्तन नहुने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठित कलाकार तथा अभिनेता कृष्ण मल्लले परिवर्तन नेपालले निरन्तर गुरुपूर्णिमाको अवसरमा गर्दै आएको यो कार्यक्रमले शिष्य र गुरुप्रतिको अनुशासनलाई मजबुत बनाउने बताउनुभयो । उहाँले पछिल्लो समयको चलचित्र उद्योगमा देखिएको गतिविधिलाई सुधार्नुपर्ने बताउँदै छोटो समयमा सफलता हात पार्दैमा माता पिता र गुरुले दिएको योगदान भुल्न नहुने बताउनु भयो ।
त्यस्तै प्रतिष्ठित कलाकार तथा निर्देशक लय संग्रौलाले घरको गुरु माता, हात डो¥याएर बाटो देखाउने बुबा र शिक्षा दिने गुरु महत्वपूर्ण हुन् । आफूले चलचित्र उद्योगमा धेरै चेला जन्माए पनि आज को कहाँ छ र कुन देशमा छ भन्नु परेको छ । तर जो जहाँ भए पनि गुरु र शिष्यको एकआपसको सद्भाव कायम होस् र इतिहास बिर्सन नहुने बताउनु भयो ।
त्यसैगरी प्रतिष्ठित कलाकार मदनदास श्रेष्ठले परिवर्तन नेपालले निरन्तर रुपमा गुरुपूर्णिमाको कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनुभयो । उहाँले कलाक्षेत्रमा गुरुकुलको अभ्यास निरन्तर छ भन्ने कुरा परिवर्तन नेपालले देखाएको बताउँदै गुरुपूर्णिमा लाई फरक फरक तरिकाले अभिव्यक्त गरेर पनि सबैभन्दा पहिले त अनुशासन, नीति नियमभित्र रहेर शिक्षा लिनु र शिक्षा लिएअनुसार आफ्नो निरन्तर कर्म गर्दै गुरुउपदेशलाई पालना गर्नु भएको बताउनुभयो ।
कार्यक्रमलाई धन्यवाद ज्ञापन गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले आफूले गुरुचेला भन्दा पनि सत्संगलाई विशेष रुपमा लिएको बताउनुभयो । अध्यक्ष निरौलाले गुरुकुलको नीति नियम पालना गर्नु भनेको शिक्षित र दीक्षित हुनु हो । गुरुसँग शिक्षा लिएर सफल भइसकेपछि गुरुहरु बिर्सने परम्पराले जरो गाडेको बताउँदै पुस्ता हस्तान्तरण हुँदै जाँदा अनुशासनलाई पनि आत्मसात गर्नुपर्ने बताउनुभयो ।