
काठमाडौं। गोरखाको सिरानचोक गाउँपालिकाका पूर्व अध्यक्ष राजु गुरुङ काठमाडौँमा सम्मानित हुनुभएको छ। नेपाल एकीकरणका महान् नायक तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको जन्मथलो र इतिहासको खोजी एवं पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो।
नेपाल एकीकरणको क्रममा महत्वपूर्ण योगदान दिएका इतिहासका पानामा सिमित रहेका बडाकाजी अमरसिँह थापाको इतिहासको सोधखोज गरी उनको पहिचानलाई प्रचार गर्नका लागि राज्यका तर्फबाट सहयोग पुर्याएको भन्दै राष्ट्रिय विभुति अमरसिँह थापा प्रतिष्ठान, काठमाण्डौले त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकालीमा शनिबार सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष गणेश थापाले जानकारी दिए ।
देशभक्ति, वीरता, त्याग र राष्ट्र निर्माण प्रति वडाकाजी अमरसिँह थापाको महत्वपूर्ण योगदान रहेको छ । अमरसिंह थापा गोरखाको सिरानचोकमा जन्मेका संस्कृति एवं इतिहासविज्ञ जगमानसिँ गुरुङले जानकारी दिए ।
अमरसिँह थापाको जन्म स्थल सिरानचोकमा यस अघि इतिहासविद् द्वय दिनेशराज पन्त र जगमानसिँ गुरुङले स्थलगत अवलोकन समेत गरेका थिए ।
को हुन अमरसिँह थापा रु
बडाकाजी अमरसिंह थापा (वि.सं. १८१६–१८७३) नेपाल एकीकरण अभियानका प्रमुख सैन्य नायक तथा कुशल रणनीतिकार थिए । उनी नेपालको पश्चिमी क्षेत्रको एकीकरण तथा राज्यको सीमाको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने सेनापतिका रूपमा परिचित छन् । उनको नेतृत्व, वीरता र राष्ट्रप्रतिको समर्पणका कारण उनी नेपाली इतिहासका महान् राष्ट्रिय विभूतिमध्ये एक मानिन्छन् ।
पृथ्वीनारायण शाहपछि बहादुर शाहको संरक्षकत्वकालमा सुरु भएको एकीकरण अभियानमा अमरसिंह थापाले पश्चिम नेपालतर्फ नेतृत्व गरेका थिए । उनले पाल्पा, कुमाउँ, गढवाल लगायतका क्षेत्रमा नेपाली सेनाको नेतृत्व गर्दै राज्य विस्तारमा महत्वपूर्ण सफलता हासिल गरेका थिए ।
अमरसिंह थापा उत्कृष्ट सैन्य योजनाकार थिए । योजना निर्माण, पहाडी भूगोलको प्रभावकारी उपयोग तथा सीमित स्रोतसाधनका बीच युद्ध सञ्चालन गर्ने उनको क्षमता उल्लेखनीय थियो । उनले सैनिकहरूको मनोबल उच्च राख्दै कठिन परिस्थितिमा पनि सफल नेतृत्व प्रदान गरे ।
पश्चिमी नेपालको सीमाको विस्तार
उनको नेतृत्वमा नेपाली राज्य पश्चिमतर्फ विस्तार हुँदै सतलज नदीसम्म पुगेको थियो । यसले नेपालको भौगोलिक क्षेत्रफल र राजनीतिक प्रभावलाई उल्लेखनीय रूपमा बढाएको थियो । वि.सं. १८७१–१८७२ (सन् १८१४–१८१६) को नेपाल–अङ्ग्रेज युद्धमा अमरसिंह थापाले पश्चिम मोर्चाको नेतृत्व गरे । देउथल, मलौं र आसपासका क्षेत्रमा उनले अङ्ग्रेज सेनासँग साहसपूर्वक प्रतिरोध गरे । स्रोतसाधनको अभाव हुँदाहुँदै पनि उनले नेपाली सेनाको नेतृत्व गर्दै लामो समयसम्म अङ्ग्रेज सेनालाई चुनौती दिए ।