३ पुस्ताका स्टारको स्वरमा तीज गीत ‘रातो सारी झल्कियो बरिलै’, भिडियोमा पनि अग्रज र अनुजसँगै

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०८३, मंगलवार २०:१९

काठमाडौं । नेपाली संगीत र अभिनय जगत्का विभिन्न पुस्ताका दिग्गज नक्षत्रहरूलाई एउटै फ्रेममा समेट्दै नयाँ तीज गीत ‘रातो सारी झल्कियो बरिलै’ सार्वजनिक भएको छ। वरिष्ठ गायिका देविका बन्दनाको सांगीतिक प्रस्तुतिमा आएको यस गीतको अडियो र भिडियो दुवैमा नेपाली कला जगतका ‘लिजेन्ड कलाकारहरूको उपस्थिति देख्न सकिन्छ।

अडियोमा ३ पुस्ताका स्टारको जादुमयी स्वर
यस गीतको मुख्य आकर्षण नै अडियो र भिडियो दुवैमा देखिएको सुन्दर पुस्तान्तरण र सहकार्य हो। गीतको गायकीमा ३ फरक पुस्ताको सांगीतिक त्रिवेणी मिसिएको छ। दशकौंदेखि सुगम संगीतमा राज गरिरहेकी अग्रज गायिका देविका बन्दनालाई वर्तमान लोकदोहोरी क्षेत्रकी स्थापित गायिका शान्तिश्री परियार र आधुनिक पुस्ताकी अत्यधिक लोकप्रिय गायिका एलिना चौहानले स्वरमा साथ दिएका छन्। तीनै जना स्टार गायिकाहरूको स्वरको फ्युजनले गीतलाई निकै ओजपूर्ण बनाएको छ।

भिडियोमा पनि अग्रज र अनुजको महासङ्गम
गीतको अडियोमा मात्र होइन, म्युजिक भिडियोमा पनि अग्रज र अनुज पुस्ताको बलियो एकता पर्दामा उतारिएको छ। भिडियोतर्फ नेपाली चलचित्र जगत्कै इतिहास र धरोहर मानिने वरिष्ठ अभिनेत्री एवं चलचित्र कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसाल र प्रथम नेपाली रङ्गीन चलचित्र ‘कुमारी’ की दिग्गज नायिका चैत्यदेवी मुख्य भूमिकामा फिचर भएका छन्।
सिल्भर स्क्रिनका यी लिजेन्डहरूसँगै नयाँ पुस्ताका स्थापित अनुहारहरू सुनिता कुँवर, गायिका मञ्जु पौडेल र अनिता यादवलगायतले अभिनय र नृत्यमा दरो साथ दिएका छन्। स्वरका साम्राज्ञी र अभिनयका आकाशहरू एउटै आँगनमा रातो सारीमा सजिएर मौलिक तीजको भाकामा झुमेको दृश्यले भिडियोलाई ऐतिहासिक बनाएको छ।

मौलिकता र संस्कारको सङ्गम
अग्रज गीतकार उषा शेरचनका मर्मस्पर्शी शब्द, नरहरि प्रेमी उपाध्यायको संगीत र राकेश सोनीको संगीत संयोजन रहेको यो गीत पूर्ण रूपमा मौलिक लोकलयमा आधारित छ। अकुस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रले गरेका हुन्।

सृष्टि घिमिरेको कुशल निर्देशन तथा कोरियोग्राफी र देवराज आचार्यको छायांकन रहेको भिडियोमा नेपाली मौलिक पहिरन र संस्कृतिलाई प्राथमिकता दिइएको छ। देविका बन्दनाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतले बजारमा आधुनिकताका नाममा भित्रिएका विकृतिहरूलाई चिर्दै पुरानो पुस्ताको शालीनता र नयाँ पुस्ताको गतिशीलतालाई कलात्मक ढंगले जोडेर एउटा सुन्दर सन्देश दिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु