चटपटे पसलको कुनाबाट सङ्गीतको शिखरसम्मः ‘गायिका रचना रिमाल’, मनाउँदैछिन् आज जन्मदिन

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार १६:३९

काठमाडौं । झापाको एक साधारण परिवार। आमा पसलमा व्यस्त, वरिपरि ग्राहकको भिड। त्यही पसलको एक छेउमा बसेर काइदाले गीत गुनगुनाइरहेकी एक बालिकासँग कसैले मोबाइलको क्यामेरा तेर्स्यायो। कसैले सोचेका थिएनन् होला, टिकटक र फेसबुकमा भाइरल भएको त्यो ‘अर्गानिक’ स्वरको जादुले एकदिन सिंगो नेपाललाई मन्त्रमुग्ध पार्छ भनेर । उनको त्यही भाइरल भिडियो र स्वरको जादु सुनेर सङ्गीतकार बसन्त सापकोटाले काठमाडौँको स्टुडियोसम्मको बाटो देखाए, जसले उनको जीवनमा साङ्गीतिक मोड ल्यायो।

अहिले त्यही भाइरल बालिकाबाट उदाएकी रचना नेपाली सङ्गीतिक आकाशकी ‘हिट’ सिंगर बनिसकेकि छिन् । आज साउन २९मा उनै लोकप्रिय गायिका रचना रिमाल आफ्नो जन्मदिन मनाउँदै छिन्। गायिका रचना रिमालले आफ्नो २४ औं जन्मदिनको पावन अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै सामाजिक सञ्जालमा ‘२४ औं वसन्त ♥️ पशुपतिनाथको शरणमा’ लेखेर आफ्ना सुन्दर तस्बिरहरू सार्वजनिक गरेकी छिन्। उनले आफ्नो यसै विशेष दिनमा पशुपतिनाथको परिसरबाट शेयर गरेको उक्त पोस्टमा उनका देश तथा विदेशमा रहेका लाखौं फ्यान, सहकर्मी कलाकार र शुभचिन्तकहरूले जन्मदिनको भारी मात्रामा शुभकामना व्यक्त गरिरहेका छन्।

नेपाल आइडल सिजन–३ बाट राष्ट्रिय चर्चामा आएकी रचनाले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन। रियालिटी शोबाट बाहिरिएलगत्तै उनले जुन गति समातिन्, त्यो नेपाली सङ्गीतिक इतिहासमा लोभलाग्दो थियो। कोरोनाकालको विषम परिस्थितिमा पनि प्रविधिको सही प्रयोग गर्दै उनले एकाएक सयौं गीतहरूमा आवाज भरिन्। विश्लेषकहरूका अनुसार, सन् २०२० देखि २०२२ को छोटो अवधिमै १ हजारभन्दा बढी गीतहरू रेकर्ड गराएर उनले साङ्गीतिक बजारमा अचम्मको रेकर्ड कायम गरिन्। बिहान स्टुडियो, दिउँसो साङ्गीतिक कार्यक्रम र बेलुका अर्को रेकर्डिङ— उनको यो व्यस्तताले उनलाई घरघरको रोजाइ बनायो।

‘रुमाल चिनो’ बाट औपचारिक व्यावसायिक यात्रा थालेकी उनलाई फिल्म ‘प्रेमगीत ३’ को ‘फोटो फिरिममा’ गीतले उचाइको अर्कै सिँढी चढायो। यसबाहेक ‘परदेशी माया’, ‘तिमी मलाई मन पर्छ’, र ‘मिनरल वाटर’ जस्ता गीतहरूले उनलाई पप, लोकसुगम र आधुनिक विधा सबैतिर समान रूपमा स्थापित गराए। उनको यो असाधारण सफलताको कदर गर्दै उनले थुप्रै प्रतिष्ठित राष्ट्रिय सम्मानहरू समेत प्राप्त गरिसकेकी छिन्।

अहिले रचना केवल रेकर्डिङमा मात्र सीमित छैनिन, उनी शास्त्रीय सङ्गीतको गहिरो साधना र रियाजमा पनि उत्तिकै समय दिइरही छिन्। उमेरले भर्खर २४ औं वसन्तमा हिँडिरहेकी रचनाको साङ्गीतिक भविष्य अझै उज्ज्वल देखिन्छ। आज जन्मदिनको यो विशेष घडीमा सामाजिक सञ्जाल उनका शुभचिन्तक, अग्रज कलाकार र लाखौं श्रोताका शुभकामना सन्देशले रङ्गिएका छन्। बाल्यकालको त्यो सादापन र गलाको मिठासलाई सँगै बोकेर अगाडि बढेकी रचना रिमाल नेपाली सङ्गीतमा दीर्घकालसम्म बाँचिरहने नाम बन्ने क्रममा छिन्। जन्मदिनको शुभकामना सबैकी प्रिय गायिका रचना !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु