‘कलाले ल्याइन् ‘केटो चालु पर्यो’, चाडपर्व र मेला–महोत्सवमा ‘डान्सिङ फ्लोर’को पहिलो रोजाइ बन्ने संकेत

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०८३, मंगलवार २३:०३

काठमाडौं । विगतका वर्षहरूमा ‘अन्टी लभर’, ‘मायाको झल्को छ’ र ‘पानी घट्टकै’ जस्ता दर्जनौँ सुपरहिट लोक तथा दोहोरी गीतहरू दिएर स्रोता-दर्शकको मन जित्न सफल स्थापित गायिका कला लम्सालले आफ्नो नयाँ सांगीतिक प्रस्तुति बजारमा ल्याएकी छिन्। पछिल्लो समय डिजिटल प्लेटफर्ममा ३ करोडभन्दा बढी भ्युज कमाएको ब्लकबस्टर गीत ‘अन्टी लभर’ को अपार सफलतापछि उही चर्चित टिमको सहकार्यमा नयाँ लोक–पप डान्सिङ नम्बर ‘केटो चालु पर्यो’ सार्वजनिक गरिएको हो।

नेपाली संगीत बजारमा उत्साह थप्ने उद्देश्यका साथ निर्माण गरिएको यस डान्सिङ बिटको गीतमा गायिका कला लम्साललाई चर्चित गायक, संगीत संयोजक तथा संगीतकार आशिष अविरलले गायनमा साथ दिएका छन्। युवापुस्ताको रुचि र आधुनिक डान्सिङ ट्रेन्डलाई ध्यानमा राखेर तयार पारिएको यो गीतमा बहुप्रतिभाशाली गीतकार तथा संगीतकार रमेश परियारको उत्कृष्ट शब्द र संगीत रहेको छ। आशिष अविरलकै संगीत संयोजन रहेको यस गीतको अडियो पक्ष निकै बलियो र सुन्दै खुट्टा उचाल्न मन लाग्ने खालको बनेको छ ।

भिडियोमा बले र कलाको कडा केमेष्ट्रि

प्रायः हास्य विधा र भिन्न चरित्रमा रुचाइएका कलाकार सागर लम्साल ‘बले’ यस भिडियोमा निकै स्टाइलिस र चकलेटी अवतारमा प्रस्तुत भएका छन्। उनीसँगै गायिका कला लम्सालको स्क्रिन उपस्थिति र ग्ल्यामरस लुक्सले भिडियोलाई निकै थप आकर्षक बनाएको छ। नृत्य र अभिनयमा दुवै कलाकारले देखाएको अभूतपूर्व तालमेल र ‘अनस्क्रिन रोमान्स’ को कडा केमेष्ट्रिलाई दर्शकहरूले निकै रुचाएका छन्। म्युजिक भिडियोलाई नेपाली म्युजिक भिडियो क्षेत्रका चर्चित र परिपक्व निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले निर्देशन गरेका हुन्। मौसमको उत्कृष्ट निर्देशन र कस्ट्युम डिजाइनका कारण भिडियो निकै कलरफुल र व्यावसायिक बनेको छ। भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने सम्पादन र कलर ग्रेडिङको जिम्मेवारी प्रवीन भट्टले निभाएका छन्।

‘अन्टी लभर’ को बिरासत जोगाउने चुनौती र क्रेज

पछिल्लो समय नेपाली सांगीतिक बजारमा तहल्का मच्चाएको ुअन्टी लभरु पछि गायिका कला लम्साल र संगीतकार आशिष अविरलको जोडीलाई हेर्ने दर्शकको नजर निकै उच्च थियो। स्रोताको यही अपेक्षालाई पूरा गर्न ुकेटो चालु पर्योु मा निकै मिहिनेत गरिएको देखिन्छ। गीतमा पुरानै टिमको ऊर्जा, परिपक्व गायन शैली र समसामयिक युवा ट्रेन्डलाई यसरी बुनिएको छ, जसले ‘अन्टी लभर’ को बिरासतलाई थप उचाइमा पुर्‍याउने निश्चित छ।

गीत सार्वजनिक भएसँगै यसको डान्सिङ बिट र ‘केटो चालु पर्यो’ बोलको हुक–लाइन टिकटक, इन्स्टाग्राम रिल्स र फेसबुक सर्ट्समा निकै भाइरल हुन थालिसकेको छ। टिकटक र युट्युबको प्रतिक्रिया हेर्दा यो गीत आसन्न चाडपर्व, पार्टी र मेला–महोत्सवहरूमा डान्सिङ फ्लोरको पहिलो रोजाइ बन्ने संकेत देखिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु