सुरेशको ‘पहिलो चरण’ विमोचित, रमेशको शब्द-संगीत, शितल र दिपिका स्वर

म्यूजिक खबर
प्रकाशित: ३ आश्विन २०८३, शनिबार १९:१८

काठमाडौं । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नवमोडल तथा निर्माता सुरेश नगरकोटीको ‘पहिलो चरण’बोलको गीतको श्रव्य दृश्य विमोचित गरियो ।

समारोहका प्रमुख अतिथि राजु परियार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमाल, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम लगायतले विमोचन गरेका थिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना र चन्द्रमणी गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रेमभावले भरिएको गीतमा शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वर रहेको छ । रमेश परियारको शब्द तथा संगीतमा तयार भएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ भने ओजन स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

अजय रेग्मीले छायांकन गरेको भिडियोको कलर तथा सम्पादन मनोज कार्कीले गरेका छन् ।

गीतको भिडियो रोशन विश्वकर्माको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । भिडियोमा सुरेश कोहली, सुन्जना गुरुङ, तुल्सी गुरुङ र सुरेश नगरकोटीको अभिनय तथा प्रस्तुति रहेको छ । प्रेमिल भाव र मौलिक दोहोरीको स्वाद समेटिएको गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

विमोचन कार्यक्रममा लोक स्वर सम्राट राजु परियारले गीत तथा भिडियो निर्माणको प्रशंसा गर्दै सफलताको शुभकामना दिए । उनले शितल गुरुङ र दिपिका बयम्बु मगरको स्वरले गीतलाई थप आकर्षक बनाएको बताउँदै डिजिटल पुस्ताका दर्शक–श्रोताले पनि गीतलाई रुचाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव एवं सर्जक शिव हमालले ‘पहिलो चरण’ लोक बजारमा अब्बल सिर्जनाका रूपमा स्थापित हुने शुभेच्छा व्यक्त गरे । प्रवासमा पसिना बगाइरहेका लोकसंगीतप्रेमीहरूले नेपाली लोकगीत–संगीतमा गरेको लगानीले समग्र लोक क्षेत्रको विकासमा योगदान पुर्‍याइरहेको भन्दै उनले निर्माता सुरेश नगरकोटीलाई धन्यवाद दिए ।

कार्यक्रममा सर्जक रमेश परियारले गीतको भाव तथा सिर्जनाको पृष्ठभूमिबारे जानकारी गराएका थिए । गायक शितल गुरुङ र गायिका दिपिका बयम्बु मगरले गीत प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । गायक तेजश रेग्मीले पनि गीतको सफलताको शुभकामना दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु