
काठमाडौं । लामो समयदेखि नेपाली सांगीतिक तथा साहित्यिक क्षेत्रमा निरन्तर साधना गर्दै आउनुभएकी प्रतिष्ठित गीतकार उन्नती बोहरा शीला सम्मानित हुनु भएको छ ।
असोज ३ गते, शनिबार प्रज्ञा भवनमा आयोजित ‘बुद्धवीर लामा १५औं गीतिमय सांगीतिक साँझ–२०८३’ समारोहमा ‘गीत साहित्य रत्न सम्मान – २०८३’ बाट लामो समयदेखि क्रियाशिल प्रतिष्ठित गीतकार बोहरा सम्मानित हुनु भएको हो ।
लामाद्वारा रचित चर्चित गीतहरु लोकप्रिय गायिका कुन्ती मोक्तान, सत्यकला राई, गायक यम बराल लगायतले प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा चोली राम्रो पाल्पाली ढाकाको, मैले सब्लाई बिर्सेछु लगायतका गीतहरु प्रस्तुत गरिएका थिए ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खनाल, सर्जक लामालगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको सहजीकरण चर्चित नियात्राकार प्रतीक ढकालले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
प्रयास मन्च नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा गीतकार बोहरासँगै राष्ट्रका ख्याती प्राप्त बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तित्वहरू सम्मानित हुनु भएको थियो।
उन्नती बोहरा “शीला” नेपालकी एक प्रतिष्ठित तथा बहुआयामिक गीतकार हुनुहुन्छ । उहाँ सातौं नेसनल क्यापिटल अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। यसैगरी उनले ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान’ र अन्य थुप्रै राष्ट्रिय स्रष्टा सम्मानहरू प्राप्त गरिसक्नु भएको छ ।
उहाँका सिमलको फूल सरी, मेरो शून्य शून्य बानी, बदनाम हुन देऊ, धर्तीको सन्देश, कोटि कोटि प्रणाम छ, खोला जस्तै बगिरहेछु, त्यो दिन याद गर लगायत थुप्रै गीतहरु लोकप्रिय र कालजयी छन् ।